दीननाथ बराल,
पोखरा १७, भदौ,
गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ । आज (सोमबार) अपरान्ह मन्त्री मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ ।
सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो ।
नेकपा एमालेका ४ जना मन्त्रीलाई आज नै मुख्यमन्त्री पाण्डेले नियुक्ति गर्नु भएको थियो । उहाँहरुको सपथ ग्रहण पश्चात मन्त्री गुरुङ सपथ ग्रहण स्थल नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखरा कार्यालयको सभाहलबाट बाहिरिनु भएको थियो । मन्त्री मनाङेले आफ्ना स्वकीय सचिव सन्तोष अधिकारी मार्फत राजीनामा पत्र मुख्यमन्त्री समक्ष पेश गर्नु भएको थियो ।
मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टि हुदा हुदै पनि मनाङेलाई मन्त्रिपरिषदबाट हटाउनु भएको थिएन तर आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको श्रोतको भनाई छ । उक्त मन्त्रालय हाल मुख्यमन्त्री पाण्डेले आफ्नै मातहातमा राख्नु भएको छ ।