माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन महायज्ञ सुरु, पहिलो दिनमै ११ लाख संकलन

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा ७, भदौं,

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो ।

महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले भुर्जुङखोलाको पर्यटन, कृषि, स्वास्थ्य लगायतका सबै क्षेत्रको विकासका लागि पालिकाको तर्फबाट ध्यान जाने बताउनुभयो ।

उहाँले भन्नुभयो,“जुन उद्धेश्य राखेर महायज्ञ गर्दै हुनुहुन्छ, त्यसको सफलताको कामना गर्न चाहन्छु । पालिका सँधै तपाईको साथमा छ । ” सो अवसरमा अध्यक्ष गुरुङले महायज्ञमा पालिकाको तर्फबाट रु नौ लाख सहयोगको प्रतिवद्धता जनाउँदै जनप्रतिधिहरुबाट छुट्टै सहयोग रहने उल्लेख गर्नुभयो ।


गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सार्दिखोला हरेक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो।“शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा सार्दिखोला अब्बल छ । यहाँको थप विकासमा हामी सहयोग गछौँ । ” उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता गणेश आचार्यले महायज्ञको पहिलो दिन सबैको साथ र सहयोगबाट भव्य बनेको बताउनुभयो । घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र , बुद्ध तथा क्होइवो धिँ स्थापनाका लागि आर्थिक स्रोत जुटाउने उद्धेश्य महायज्ञको रहेको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

“माछापुच्छ्रे २ साथै छिमेकी वडा तथा छिमेकी पालिका पोखरा १९ बाट समेत विभिन्न जाति तथा समुदायको आफ्नै मौलिक परम्परा र संस्कृति झाँकी, भजन सहितको कलश यात्राले महायज्ञको उद्घाटनमा छुटटै उत्साह थप्न सफल भयो । आगामी दिनहरुमा समेत यस्तै उत्साह र भव्य रुपमा महायज्ञ सम्पन्न हुने लक्ष्य राखेका छौँ ।” वडाध्यक्ष आचार्यले भन्नुभयो । धार्मिक महोत्सवमा आज विहान १०स्०० बजे कलश यात्रा गरिएको थियो ।

कलश यात्रा गैरा खेलमा मैदान बाट सुरु भएर कलश यात्रा कसेरी, सार्दिखोला स्वास्थ्य चौकी, घडेरी भुर्जुङखोला बसपार्क, पुरानो चोक ९खादर्जुङ जाने बाटो ०हुँदै शिल्दु देउराली बोर्डिङ स्कुल, माछापुच्छ्रे मावि हुँदै माझटोल , देउराली, बाँझोखेत र बाझोखेत पश्चात मोटर बाटो हुँदै कोलचोकबाट महायज्ञ स्थानमा आइ समापन भएको थियो ।

उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम, शिवालय मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष सर्वजित गुरुङ, शिवालय मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गिरिधारी आचार्य, स्थानीय बेगनाथ पौडेल लगायतले उक्त महायज्ञलाई सफल पार्न सहयोग गर्ने वचन दिनु भएको थियो ।

आज बिहान १० बजेबाट कथा शिरोमणि दीपक प्रसाद पौडेलबाट प्रवचन हुने मूल आयोजक समितिका सचिव बेगनाथ पौडेलले जानकारी गराउनुभयो। महायज्ञको पहिलो दिनमै ११ लाख संकलन भएको आयोजकले जनाएको छ । तष्विरः किशोर प्रसाद गौतम /सिता अधिकारी/कृष्ण दवाडी ।