दीननाथ बराल,
पोखरा, ३१ साउन,
घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्तहरुले अधिकांश होमस्टेहरुमा महिलाहरु बढी संलग्न भएकोले गुणस्तरिय पर्यटक सहित पर्यटकको बसाई अवधि लम्बाउने गरी पर्यटकीय गन्तव्यहरुको पहिचान तथा संरक्षण एवं प्रबद्र्धन गर्न समेत सुझाव दिनु भएको थियो ।
यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कार्यक्रममा बोल्दै स्थानिय उत्पादनमा आधारित भएका होमस्टेलाई मात्र अनुदान दिने उद्घोष गर्नुभयो । प्रदेश सरकारले स्थानिय रुपमा उत्पादनलाई प्रथामिकता दिने होमस्टेहरुलाई प्रोत्साहन गरी अर्गानिक उत्पादनमा जोड दिने गरी सरकारले नयाँ कार्यक्रम ल्याउने उहाँले उल्लेख गर्नुभयो । प्रदेशमा होमस्टेको धेरै सम्भावना भएको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले यसमा संलग्नहरुलाई तालिम र प्रशिक्षण समेत आवश्यक भएको अबस्थामा सहयोग गर्ने वचन दिनु भयो ।
महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले घरवास कायक्रम (होमस्टे) मा पारिवारिक वातावरण हुनुपर्ने बताउनु भयो । होमस्टेमा स्थानिय संस्कृति र स्थानिय उत्पादनसंग जोडिनु पर्ने उहाँको सुझाव थियो । शहरबाट ब्रोइलर कुखुरा र, टमाटर, तरकारी बोकेर पर्यटकसँगै गाउँमा खान र एक रात सुत्न जानुले होमस्टेको पर्यटन प्रबद्र्धन र स्थानियको आय आर्जनमा खासै फाइदा नहुने मुख्यमन्त्री पाण्डेले दाबी गर्नु भयो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसंगै पोखरा आसपासमा पर्यटनको धेरै सम्भावना भएको नेपाल आउने करिब ७५ प्रतिशत पर्यटक अब पोखरा आउने उहाँले दाबी गर्नुभयो ।
गण्डकी प्रदेशका सांसद दीपेन्द्रबहादुर थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउदै यहाँको संस्कृति र प्रकृति बेचेर आर्थिक समृद्धि हासिल गर्न सुझाव दिनु भयो । तालिममा सहभागि सिता थापाले पर्यटकको बसाई अवधि लम्बाउन होमस्टेसंगै पदमार्ग संरक्षण र सम्बद्र्धन गर्न आवश्यक भएको बताउनु भयो । पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले महिलालाई उत्पादनमा जोड्ने, उत्पादित सामग्रीको बजारीकरणमा सघाउने अभियानमा सबै लाग्नुपर्ने बताउनु भयो । महिलासंग उपमेयर कार्यक्रम मार्फत यस बर्ष १५ करोड बजेट विनियोजन भएको उहाँले जनाउनु भयो । महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशिल बनाउन महासंघले विभिन्न तालिम तथा प्रशिक्षण दिदै आएको दाबी गर्नुभयो । महासंघले स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा बागलुङको भकुण्डे सामुदायिक होमस्टे र अतिथि सत्कार होमस्टेका सञ्चालक तथा सञ्चालन गर्न ईच्छुकहरुलाई दुई हप्ते व्यवसायहरुको डिजिटाइजेसन सम्बन्धि तालिम दिएको उहाँले जनाउनु भयो ।
महासंघकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले स्ट्याण्डर्ड चार्टर्ड बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला उद्यमी तथा व्यवसायीहरुलाई उहाँहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो । महासंघकी तृतीय उपाध्यक्ष तथा च्याप्टर अध्यक्ष बासन्ती प्रधान, महासंघकी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल रेग्मी, कास्की अध्यक्ष सरु बराल, बागलुङ अध्यक्ष उमा शाक्य लगायतले वोल्नु भएको महासंघले पोखराक्लिकलाई जनाएको छ ।
उक्त अवसरमा महासंघले हामेस्टेका प्रत्येक सञ्चालकलाई होमस्टेमा आवश्यक पर्ने म्याट, प्रेसर कुकर, थर्मस, राईस कुकर, कित्ली लगायतको एक÷एक थान भाँडाकुँडा तथा दुई होमस्टेलाई दुई÷दुई सेट वाद्यवादन सामग्रीहरु समेत प्रदान गरेको थियो ।