
पोखरा, १७ भदौ,
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले तीजको दरखाने कार्यक्रमका लागि आफ्ना सदस्यहरूबाट संकलन गरेको रकम बाढी तथा विपद् प्रभावितको राहतका लागि सहयोग गरेको छ । मञ्चले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख २१ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो ।
तीजको अवसरमा दरखाने कार्यक्रम आयोजना गर्न सदस्यहरूबाट संकलन गरिएको रकम विपद्को कठिन समयमा प्रभावित परिवारको राहतमा खर्च गर्ने निर्णय गरी सहयोग गरिएको मञ्चकी अध्यक्ष ममता न्यौपानेले पोखराक्लिकलाई जानकारी दिनुभयो । उहाँका अनुसार तीज पर्वलाई केवल मनोरञ्जन र जमघटमा सीमित नराखी विपद्मा परेका परिवारलाई सहयोग गर्ने अवसरका रूपमा उपयोग गरिएको हो ।“विपद्को कठिन समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले तीजको दरखाने कार्यक्रमका लागि छुट्याइएको रकम राहत कोषमा सहयोग गरेका हौँ,” अध्यक्ष न्यौपानेले भन्नुभयो ।
मञ्चले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवामा सहयोग गरेको जनाएको छ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै निजी क्षेत्र, व्यवसायिक संघसंस्था र नागरिक समाज सबैले हातेमालो गर्नुपर्ने मञ्चको भनाइ छ ।




