
दीननाथ बराल,
पोखरा ३०, साउन,
चाइनिज नागरिकसंग पोखरामा बालिकालाई विवाह गराएको आरोपमा एक विदेशी सहित ३ जना पक्राउ पर्नु भएको छ । १४ वर्षकी एक किशोरीलाई उहाँका अभिभावकलाई जानकारी नदिई पोखराकी सरु बि.क. र भगवती अधिकारीले चाइना हुनान प्रान्तका ३१ बर्षका झि मिङ चेनसंग बिबाह गराएको आरोपमा उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मन्दिरमा लगेर विवाह गराई पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित नावालिका भाग्न सफल भए पछि उहाँका आफन्तले उजुरी गरे पछि लम्जुङ साबिक भोजे बस्ने हाल पोखरा १६ सँगमटोल बस्ने वर्ष २२ की सरु बि.क. र पोखरा १३ आर्वाकी ३४ बर्षकी भगवती अधिकारीलाई प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा (पाँच) ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो ।
पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा साउन २९ गते कार्यालयमा जाहेरी दरखास्त पेश गरेको उहाँले जनाउनु भयो । “तिमी दुःख पाउने केटी रहेछौ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौ, तिमि उसँग विवाह गरेऊ भने तिम्रो भविश्य बन्छ” भनि विभिन्न किसिमबाट ललाई फकाई गरेर विश्वास दिलाई किशोरीलाई चाइनिज नागरिक चेनसंग आर्थिक लाभ लिई साउन १३ गते विवाह गराएको कास्की प्रहरीले जनाएको छ ।