४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

-


     पोखरा क्लिक     
     श्रावण ११ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ११, साउन,

पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो ।

नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले बताउनु भयो ।

पर्यटकहरुको भारित औसत दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैया (अमेरिकी डलर ६२.८९) रहेको पाईएको छ भने भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकहरुमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको उहाँले पोखराक्लिकलाई बताउनु भयो । प्रदेशमा औसत ७ हजार दैनिक खर्च गर्ने विदेशी पर्यटक आउने गर्दछन् ।
सर्वेक्षणमा समावेश पर्यटकहरुमध्ये केही पनि समस्या अनुभव नगरेका पर्यटकहरु २८.४१ प्रतिशत भएतापनि बाँकी ७१.५९ प्रतिशत पर्यटकहरुले विभिन्न समस्याहरु जस्तै भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, भुक्तानीमा समस्या, सास्कृतिक फरकपनाले निम्त्याएको लगायतका समस्या भोग्नु परेको उहाँले जनाउनु भयो ।

अध्ययनमा विश्वका ४१ देशहरुबाट गण्डकी प्रदेशमा भ्रमण गर्ने पर्यटकहरु समावेश भएकोमा सबैभन्दा बढी पर्यटकहरु आउने देश भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलिया रहेको निर्देशक पौडेलले दाबी गर्नु भयो ।गण्डकी प्रदेशमा पर्यटकहरु विभिन्न उद्देश्य लिएर भ्रमण गर्ने गरेकोमा सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन ४०.१८ प्रतिशत र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरु व्यापारिक प्रयोजनका लागि आउने गरेको निर्देशक पौडेलले जनाउनु भयो । ३१ देखि ४५ उमेर समूहको पर्यटकहरु बढी साहसिक क्रियाकलाप, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापमा संलग्न हुने गरेको पाइयो भने ४६ देखि ५५ उमेर समुहका पर्यटकहरु धार्मिक कार्यका लागि आउने गरेको उहाँले जनाउनु भयो । यस प्रदेशमा पहिलोपटक आउने पर्यटकहरु ६८ प्रतिशत रहेका छन् भने ३२ प्रतिशत पर्यटक एकपटक भन्दा बढी पटक आउने गरेको पाइएको छ । एकलरुपमा भ्रमण गर्ने पर्यटकको संख्या ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने पर्यटकको संख्या २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने पर्यटकको संख्या २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने पर्यटकको संख्या १४ प्रतिशत रहेको छ ।

३८४ पर्यटकहरुको प्रतिक्रियालाई नै शत प्रतिशत मानी विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय ट्राभल कम्पनी मार्फत भ्रमणको प्याकेज लिएर आउने पर्यटकको खर्चको प्रवृत्ति विश्लेषण गर्ने क्रममा प्याकेज रकमबाट औसत अन्तर्राष्ट्रिय उडान खर्चलाई घटाई दैनिक औसत खर्च विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक रु ११ हजार ८ सय ६६ रुपैया (अमेरिकी डलर ८९.३१) रहेको छ भने त्यसैगरी स्वतः स्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको दैनिक औसत खर्च ७ हजार २ सय १७ रुपैया (अमेरिकी डलर ५४.३२) रहेको निर्देशक पौडेलले जनाउनु भयो ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयलले हालै सार्वजनिक गरेको उक्त सर्वोक्षण । जस्ताको तस्तै ।