हेमजामा हुने असारे रोपाई महोत्सवको तयारी पूरा

-


     पोखरा क्लिक     
     असार १३ गते २०८१ मा प्रकाशित


पोखरा, १३ असार,

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् ।

महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए ।

‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् ।

प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु।७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

यसैबिच, त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुनेभएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो ।

महोत्सवमा पुरुष फुटबल ,महिला पुरुष हिले दौड ,महिला धान रोप्ने, महिला रस्साकशी , पुरुष माछा छोप्ने ,हल गोरु दौड ,महिला पुरुष घौटो फुटाउने लगाएतका प्रतियोगिताहरु मुख्य आकर्षणको रुपमा रहेको साथै विभिन्न विधामा पुरस्कार समेत राखिएको क्लबका अध्यक्ष उमेश बाँस्तोलाले बताए ।

माछापुच्छ्रे ४ वडा कार्यालयको संरक्षणमा हुने महोत्सवमा विभिन्न उत्कृष्ट युवा किसान व्यवसायिलाई सम्मान गरिने छ ।