पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा

-


     पोखरा क्लिक     
     वैशाख ३० गते २०८१ मा प्रकाशित


पाखुरीकोट गुरुङ समाज पोखरा–१३ ले प्रकाशन गरेको पाखुरीकोट दर्पण आइतवार एक समारोहका बीच लोकार्पण गरिएको छ । उक्त दर्पणको कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपलकुपति गोरे गुरुङ, मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतम र दर्पणका प्रधानसम्पादक चिफ इन्स्पेक्टर हरिध्वज गुरुङले संयुक्तरूपमा लोकार्पण गरे ।


प्रमुख अतिथि मनबहादुर गुरुङले सांस्कृतिक पहिचानका हिसाबले पहिलो मोर्चामा रहेको गाउँका रूपमा पाखुरीकोट चिनाए । गुरुङले थपे– ‘संसारमा धनी मानिएकाहरू शिक्षा र मेहनतकै कारण धनी भएका हुन् तर नेपाल जस्तो कृषिप्रधान देशमा उत्पादनमुखी कर्म हराउनु, नेपालीमा शिक्षा आर्जन र मेहनत परम्परा कमजोर हुनु सबैभन्दा ठूलो चिन्ताको विषय हो ।’ उनले समाजमा देखिएका वेथिति अन्त्य गर्न यस्ता समाजको योगदान र भूमिका महत्वपूर्ण रहेको स्मरणसमेत गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले आमाहरूको पहलमा सभ्य र भव्यरूपमा पाखुरीकोट समाज अगाडि बढ्नु गौरवको विषय भएको बताइन् । उनले राज्य र समुदायका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका भएर पनि नेतृत्वमा महिलाको न्यून सहभागिता वर्तमानका लागि मात्र नभएर भविष्यका लागि पनि चिन्ता र चिन्तनको विषय भएको धारणा व्यक्त गरिन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले समाजको पाखुरीकोट दर्पणलाई ऐतिहासिक अक्षर लेखिएको कृतिका रूपमा चिनाए । पछिल्लो समय राज्यमै बस्ने वातावरण सिर्जना गराउन नसक्दा समाज वृद्धाश्रमजस्तो हुनु नेपालीका लागि दुखद सन्दर्भ भएकाले त्यसतर्फ सचेत रहनसमेत सुझाए ।

दर्पणको विश्लेषण गर्दै असफल गौतमले कृति पछिल्लो पुस्ताका लागि एउटा सन्दर्भ सामग्रीका रूपमा रहेको चित्रण गरे । उनले राज्यमा समृद्धि र सुशासन कायमका साथै सिङ्गो नेपाली वाङ्मयको संरक्षणमा परोपकारी संस्थाको उल्लेख्य भूमिका रहेको बताए । असफलले राजनीतिक चेतनाबाट सर्वपक्षीय व्यक्ति भएकाहरूले राज्यको ढुकुटीलाई तीर्थस्थल जस्तो बनाउनुपर्नेमा आफ्नो चिन्हको नीजि सम्पत्ति बनाउन खोज्नु वर्तमानका लागि दुभाग्यपूर्ण रहेको धारणासमेत व्यक्त गरे ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष कृष्णबहादुर गुरुङले समाज स्थापनादेखि १२ वर्षसम्मका गतिविधि समेटेर दर्पण प्रकाशन गरिएको जानकारी दिए ।

संस्थाका अध्यक्ष चिफ इन्स्पेक्टर हरिध्वज गुरुङले समाजको चार वर्षदेखिको निरन्तरताको प्रयास कृति भएको बताए । उनले पहिलो प्रयास पूर्णता नभएका थालनी मात्र भएको बताउँदै सहयोगी सम्पूर्णलाई आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि समाजले दर्पणलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाए । सोही समारोहका बीच दर्पण प्रकाशनमा महत्वपूर्ण भूमिका खेल्ने समाजसेवी जुमप्रसाद गुरुङलाई पाखुरीकोट दर्पण सारथि सम्मानबाट सम्मानितसमेत गरिएको थियो ।
संस्थाका सचिव केशबहादुर गुरुङले समाज स्थापनाकालदेखि वर्तमानसम्मका आरोह अवरोधबारे श्रव्यदृश्यसहित अवगत गराएका थिए । कार्यक्रममा समाजका आमा समूहले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।