पोखरामा भोलि हुने एसिया ट्रायथलन कपमा नेपाल सहित १५ देशका ६२ जना सहभागि हुने

-


     पोखरा क्लिक     
     वैशाख १४ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १४, वैशाख,


पोखरामा भोलि (शनिबार) हुने एसिया ट्रायथलन कपमा नेपाल सहित १५ देशका ६२ जना सहभागि हुने भएका छन् । पर्यटनको राजधानि पोखरामा शनिबार विहान ७ः०० बजे देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

प्रतियोगितामा महिला तर्फ २४ जना र पुरुष तर्फ भने ३८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको नेपाल ट्रायथलन संघका उपाध्यक्ष सुमन देवकोटाले बताउनु भयो । प्रतियोगितामा नेपालका भने ९ जना खेलाडीहरुले सहभागि हुने भएको उपाध्यक्ष देवकोटाले जनाउनु भयो । प्रतियोगिताका विजेतालाई ८३ हजार, उपविजेतालाई ६९ हजार र तेश्रो हुनेलाई ५५ हजार पुरस्कार समेत प्रदान गरिने भएको छ । उक्त प्रतियोगिता भोलि बिहान ७ः०० बजे सुरु हुने भएको हो । ७ सय ५० मिटर फेवातालमा पौडी, २० किलोमिटर साइक्लिङ गौरीघाट देखि शहिदचोक, राष्ट्रबैंक देखि पार्दी हुदै पुनः गौरीघाटमा ४ राउण्डको दुरी निर्धारण गरिएको छ भने ५ किलो मिटर दौड उक्त रुटमै हुने भएको छ । प्रतियोगिताको पुरस्कारमा चार हजार २०० अमेरिकी डलर नगद रहेको छ ।

उक्त प्रतियोगितालाई सफल पार्न राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका, पोखरा पर्यटन परिषद, होटल संघ पोखरा नेपाल लगायतको सहयोगमा हुन लागेको हो । उक्त खेलले पोखराको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने नेपाल ट्रायथलन संघ गण्डकी प्रदेशका अध्यक्ष एवं व्यबस्थापन कमिटि पोखराका संयोजक डिल्लीराज सुवेदी (शिशिर) ले बताउनु भयो । उक्त प्रतियोगिता पोखरामा हुनुले यहाँका खेलकुदकर्मी सहित पर्यटन व्यवसायीहरु निकै उत्साहित भएको उहाँको भनाई थियो ।

प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश, आइसल्याण्डका खेलाडीले सहभागिता जनाउने छन् । गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा आयोजना हुने लागेको हो । सन् २००० देखी ओलम्पिकमा समावेश भएसँगै विश्वव्यापी रुपमा यस खेलको लोकप्रियता अझै बढेको छ । नेपाल ट्रायथोलन एशोसिएसन (एनटिए) ले पनि सन् २०११ देखी नेपालमा ट्रायथोलन खेलको विकास र विस्तारका लागि काम गर्दै आएको छ । नेपाल ट्रायथोलन एशोसिएसन(एनटिए) विश्व ट्रायथोलन र एशिया ट्रायथोलनसँग आवद्ध छ ।

नेपालमा १० औँ संस्करणसम्म दक्षिण एशियाली ट्रायथोलन च्याम्पियसिपको आयोजना पछि सन् २०१९ देखी सफलतापूर्वक एशिया कपको आयोजना हुँदै आएको छ । दुई वर्ष कोरोनाका कारण रोकिएको एशिया कप त्यसपछि निरन्तर वर्षेनी सञ्चालन हुदै आएको छ ।

यस वर्ष च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य समेत रहनु भएका वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो र महासचिव एन्टोनियो आरामानी सहभागी हुनुहुने भएको छ । विशिष्ट पाहुनाहरुको आगमनले नेपालको खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने विश्वास गरिएको छ । अध्यक्ष मारिसोल कासडोको यो तेस्रो नेपाल भ्रमण हो ।
च्याम्पियनसिपका लागि विश्व ट्रायथोलनबाट मनोनित टेक्निकल डेलिगेट्स भारतका प्रभात शर्माले पोखराको रुट र फेवातालको पानी उक्त खेलको लागि उपयुक्त रहेको दाबी गर्नु भयो ।