
डि.एन.बि.
पोखरा ८, वैशाख,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ जना बिना विभागीय मन्त्रीलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्नु भएको छ । नेकपा माओवादी (केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानलाई आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पुनः भौतिक पूर्वाधार बिकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने गरी मुख्यमन्त्री अधिकारीले सिफारिस गर्नु भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा दुई जना मन्त्रीलाई जिम्मेवारी दिने गरी सिफारिस आएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले पोखराक्लिकलाई बताउनु भयो । उक्त पत्र आज (शनिबार) बिहानै आएकोले सार्वजनिक बिदा भएकाले त्यो प्रमाणीत हुन केही समय लाग्न सक्ने उहाँले उल्लेख गर्नु भयो । गत चैत २५ गते नयाँ सरकार गठन हुँदा मुख्यमन्त्री खगराज अधिकारीले दुबै जनालाई विना विभागिय मन्त्रीको रुपमा नियुक्त गर्नु भएको थियो । गण्डकीमा ७ वटा मन्त्रालय मध्य अब मुख्यमन्त्री कार्यालय सहित ५ वटा मन्त्रालय मुख्यमन्त्री अधिकारीले आफ्नै माताहातमा राख्नु भएको छ ।
अघिल्लो सरकारको समयमा छोटो समय भौतिक पूर्वाधार बिकास तथा यातायात मन्त्रालयको जिम्मा पाउनु भएको मन्त्री गुरुङ अघिल्लो ५ बर्षीय सरकारको समयमा ३ पटक खेलकुद मन्त्री हुनु भएको थियो । मन्त्री चुमान भने अघिल्लो ५ बर्र्षे सरकारको समयमा केही समय कानून तथा संचार मन्त्री हुनु भएको थियो ।
सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परे पछि अधिकारीको नेतृत्वको टोलीले सभामुख सहित ३१ मतका आधारमा सरकारको दाबी गर्दै नयाँ सरकार गठन भएको हो । यसमा नेपाली कागेंसले अवैधानिक रुपमा नयाँ सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा गएको छ ।



