पोखरा, ७ वैशाख
पोखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ मा भक्तजनको आकर्षण बढ्दो छ ।
हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गर्न पहिलो पल्ट यहाँ उपस्थिति छन् । उनको मुखारबिन्दबाट कथा सुन्न विशेषगरी युवासहित ज्येष्ठ नागरिकको आकर्षण छ । महायज्ञको पाँचौं दिन शुक्रबार भक्तजनको उपस्थिति बाक्लो थियो ।
ज्ञानानन्द सरस्वतीजी महाराजले धनसम्पत्ति नहोस्, तर सन्तोष होस् भन्दै मुर्खको संगत नगर्न सुझाए ।
महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले लोकको कल्याणका लागि नयाँ वर्ष अवसरमा महायज्ञ आयोजना गरिएको बताए । दिउँसो १ देखि साढे ४ बजेसम्म नियमितरुपमा श्रीमद्भागवत् कथा प्रवचन भइरहेको र उपस्थित भई पुण्यलाभ लिन उनले आग्रह गरे । महायज्ञमा अझै २ दिनसम्म पाठपरायण, प्रवचन तथा अनुष्ठान हुनेछ ।
त्यसो त, महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रम हुने गरेका छन् ।
वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा जारी महायज्ञ वैशाख १० सम्म चल्नेछ । समापनमा पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण हुनेछ ।
सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञका सल्लाहकार एवं विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले बताए ।
पितृमुक्ति वा सद्गतिको कामना लिएर घरघरमा सप्ताह लगाउने हाम्रो मौलिक परम्परा रहेकोमा कुनै कारण घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना हुने व्यवस्था मिलाइएको छ ।
हरेक दिन बिहान साढे ४ देखि ६ बजेसम्म नित्यकर्म एवं योगाभ्यास, बिहान ६ देखि ७ बजेसम्म पूजाआरति, साढे ७ देखि साढे १२ सम्म श्रीमद्भागवत् पाठपारायण एवं अनुष्ठान, साढे १२ देखि साढे १ सम्म मध्यान्ह÷भजन संकीर्तन त्यसपछि कथावाचन, साढे ४ देखि ५ बजेसम्म आरति, पुष्पाञ्जली, प्रसाद वितरण, साँझ ६ देखि ७ बजेसम्म श्रीमद्भागवत् माहात्म्य एवं सत्संग र त्यसपछि राति ९ बजेसम्म भजनकीर्तन, नृत्य लगायत भइरहेको यज्ञतर्फका आचार्य डा. रामप्रसाद पौडेलले बताए ।