पोखरा–२२ पुम्दी–भुम्दीको कोदीमा कोदो दिवस महोत्सवका रूपमा मनाइयो (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल.

पोखरा १६, साउन,

राष्ट्रिय कोदो दिवसको अवसर पारेर पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीको कोदीमा दोस्रो कोदो दिवस महोत्सवका रूपमा भव्य मनाइएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय रैथाने बालीको संरक्षण, पोषणयुक्त खाद्यान्नको उपयोग तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजित महोत्सवमा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

पुम्दी–भुम्दी कृषि सहकारी संस्था, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको संयुक्त आयोजनामा भएको राष्ट्रिय कोदो दिवसको सन्र्दभमा विभिन्न कार्यक्रम वडा नं. २२ को कार्यालय, वडास्तरीय कृषि सञ्जाल तथा विभिन्न स्थानीय संघ–संस्थाको समन्वयमा सम्पन्न भएको हो । महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवद्र्धन र खेती विस्तार आजको आवश्यकता भएको बताउनुभयो। उहाँले महानगरपालिका रैथाने बालीको संरक्षण, कोदो खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउने नीति तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । मेयर आचार्यले स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै कोदो उत्पादक कृषकहरूलाई महानगरले न्यूनतम समर्थन मूल्य उपलब्ध गराउँदै आएको बताउनुभयो । कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बरालले राष्ट्रिय कोदो दिवसले गाउँमा कोदोको महत्व थप स्थापित भएको बताउँदै यसले स्थानीय कृषकलाई उत्पादन वृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगर क्षेत्रमा करिब ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ भने वार्षिक ४ हजार ८ सय मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष मात्रै पोखरा क्षेत्रमा करिब ६२ करोड रुपैयाँ बराबरको कोदो आयात भएको उल्लेख गर्दै उहाँले बजारमा माग बढ्दै गए पनि उत्पादन घट्दो क्रममा रहेकाले कृषकलाई प्रोत्साहन गर्न महानगरले प्रति किलोग्राम ९० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको जानकारी दिनुभयो । उहाँले मधुमेहका बिरामी तथा स्वास्थ्यका दृष्टिले समेत कोदो अत्यन्त उपयोगी भएकाले उत्पादन र उपभोग दुवै बढाउन आवश्यक रहेको बताउँदै कोदो र कागुनो खेती विस्तार गर्न कृषकलाई आग्रह गर्नुभयो ।

महोत्सवमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कार्यक्रम संयोजक झम्कनाथ बराल, संस्थाका उपाध्यक्ष विष्णुहरी बराल, सचिव घनश्याम देवकोटा लगायतले कोदो खेतीको संरक्षण, बजारीकरण र स्थानीय उत्पादनको उपयोग बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । पुम्दी–भुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन झम्कनाथ बरालले गर्नुभएको थियो ।

उत्कृष्ट कोदो उत्पादक कृषक सम्मानित

महोत्सवका अवसरमा उत्कृष्ट कोदो उत्पादन गर्ने कृषकलाई नगद सहित सम्मान गरिएको छ । पोखरा–२२ की खगी घर्तीले २ हजार ५ सय केजी कोदो उत्पादन गर्दा उहाँलाई उक्त समारोहमा सम्मान गरिएको हो । पोखरा–२० का दुर्गा बहादुर सुनारले १ हजार ६ सय ७५ केजी कोदो उत्पादन गरी दोस्रो र पोखरा–२८ की शोभा भण्डारीले १ हजार ५ सय केजी कोदो उत्पादन गरी तेश्रो हुनु भयो । पोखरा–२३ का होम बहादुर गुरुङ सान्त्वना घोषित हुनु भयो । उहाँले १ हजार ४ सय केजी कोदो उत्पादन गर्नु भएको थियो । उहाँहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मान गर्नुभएको थियोे।

कोदो रोपाइँ प्रतियोगितामा सृजनशील कृषि समूह प्रथम

कोदो दिवसको अवसरमा आयोजित कोदो रोपाइँ प्रतियोगितामा पोखरा–२७ को सृजनशील कृषि समूह प्रथम भएको छ । समूहमा सितादेवी लामिछाने, प्रभा घिमिरे र अप्सरा बराल सहभागी हुनुहुन्थ्यो । पोखरा–२२ को रातिपोखरी कृषि संकलन केन्द्र दोस्रो भएको छ । उक्त समूहमा अग्निमाया बराल, चन्द्रकला बराल र दुर्गा पौडेल रहनुभएको थियो । यस्तै पोखरा–२२ को रानीवन चेतनशील महिला समूह तेस्रो भएको छ । समूहमा पार्वतीकुमारी शर्मा, पार्वती पौडेल र हेमकुमारी रिजाल शर्मा सहभागी हुनुहुन्थ्यो ।

१० प्रकारका कोदोका परिकारदेखि स्थानीय संस्कृति सम्म

महोत्सवमा कोदोबाट बनेका करिब १० प्रकारका परिकार, स्थानीय कृषि उत्पादन, कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी तथा बिक्री स्टल राखिएको थियो । साथै कोदोका स्थानीय जात पागुनो, डल्ले, काबुनो, चिनो, भोगे सामा, जुनेली र धानकोदो लगायतका जातको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा कोदो खेतीसम्बन्धी सहजीकरण, कृषक–उपभोक्ता अन्तरक्रिया, कृषि परामर्श, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, भजन–कीर्तन र विभिन्न सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाएको थियो । राष्ट्रिय कोदो दिवसलाई महोत्सवका रूपमा मनाएर पोखरा महानगरपालिकाले रैथाने बालीको संरक्षण, कृषकको उत्पादनमा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण तथा पोषणयुक्त खाद्यान्नप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाएको कडरियाले जनाउनु भयो ।