
पोखरा, चैत २४ गते,
‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मुल नारासहित पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा आज सम्पन्न भएको छ । स्वस्तिक वाचन गर्दै शंखध्वनीका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले विभिन्न ठाउँमा छरिएर कुल पुजा गर्दै आउनुभएका पौडेल बन्धुहरुलाई यस पौडेल वंश महासंघ नेपालमा आवद्ध भई एउटै तिथिमा पुजा गर्न आग्रह गर्नुभयो ।

उहाँले आत्रेय गोत्रको कुल उत्थानको लागि पौडेलबन्धुहरु एक हुुुनुपर्ने भन्दै कुल पुजा एकै ठाउँमा गर्न बृहत बौद्धिक भेला गर्ने र भेलाको निर्णय अनुसार नै अगाडि बढ्ने जानकारी दिनुभयो । अध्यक्ष पौडेलले पौडेल वंशमा पितृदोष र पुत्रदोषबाट मुक्त हुनको लागि यस अभियानलाई अगाडि बढाउने सँगै पौडेल वंशका सन्ततीहरुले हरेक क्षेत्रमा अगुवाई गरी देश, राष्ट्र र जनताको सेवा गर्नको लागि संस्कारको बिकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेलले कुल देवताको पुजाले संमग्र मुलुकको कल्याण हुने बताउनुभयो । अर्का सदस्य गोविन्द पौडेलले समाजका लागि भातृत्व बिकासको महत्व पनि अर्थपूर्ण हुने बताउनुभयो । त्यसैगरी अर्का सदस्य नवराज पौडेलले गण्डकी प्रदेशमा २१।५ भन्दा बढी बाहुन जातीको संख्या बढी भएपनि पौडेलबन्धुहरुले आफ्नो शक्तिलाई चिन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा शिक्षाविदे बाबुराम पौडेलले पूर्खा र प्रकृतिलाई चिन्न सकेमात्र वंशको उत्थान मात्र नभई मुलुककै समृद्धि हुने बताउनुभयो । त्यसैगरी गण्डकी प्रदेशका मुख्य महान्यायधिबक्ता चिरञ्जिवी पौडेलले सत्कर्म र दुस्कर्म चिन्न सकेमात्र वंशको पहिचान हुने बताउनुभयो । उहाँले मुलुकका लागि संस्कृत र नैतिक अपरिहार्य रहेकाले शैक्षिक पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै पश्चिम पृतनाका पृतनापति सन्तोष बल्लभ पौडेलले आत्रेय गोत्रका सन्तान पौडेल सधै सत्कर्ममा लाग्नुपर्ने बताउनुभयो ।
सचिव रामजी पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेशका नौ वटा जिल्ला समितिका अध्यक्ष, पुजा समितिका प्रतिनिधि, केन्द्रिय सहसचिव चन्द्रमणी पौडेल, कोषाध्यक्ष युवराज पौडेल, केन्द्रिय सदस्य प्रेम पौडेल, केन्द्रिय वंशावली संघका संयोजक एवं केन्द्रिय सदस्य प्रा।डा कृष्ण पौडेल, गिरीमहाराज त्रियानन्द, पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण पौडेल लगायत विभिन्न पौडेल संघसंस्थाका प्रतिनिधिले पौडेल वंशको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा कुल देवताको पुजा र विधि एउटै हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी वक्ताहरुले कुलपुजामा पशुबली प्रथाको अन्त्य गर्न र पुजा समितिलाई सक्रिय रुपमा अगाडी लैजान समेत सुझाव राखेका थिए ।
कार्यक्रममा पौडेल वंशमा उल्लेखनिय योगदान गर्नुहुने युवा व्यवसायी नाराण पौडेल र होटल दिपसागरका संचालक एवं व्यवसायी केपी शर्मालाई केन्द्रिय अध्यक्ष लगायतले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।