बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने

-


     पोखरा क्लिक     
     चैत्र ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखराको बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने भएको छ । राष्ट्रिय स्तरको उक्त प्रतियोगिता यही चैत्र ११ र १२ गते बेगनास तालमा हुने तयारी गरिएको छ भने विजेतालाई २ लाख पुरस्कारको व्यबस्था गरिएको हो ।

प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताउनु भयो । बेगनास तालको पिप्ले टुडादेखि मन्दरे पार्क सम्मको क्षेत्रमा हुने प्रतियोगितामा करिब १८ समूहको सहभागिता रहन अनुमान गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा ड्रागन बोट रेस प्रतियोगिता हुन लागेको हो ।

समितिको सदस्यहरूमा ड्रागन बोट एसोसिएसनका अध्यक्ष दिपक सुवेदी र पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन समितिका संयोजक देवेन्द्र पौडेल रहनु भएको छ । गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय स्तरको ड्रागन वोट रेस भएको थियो ।
फागु पूर्णिमाको अवसर पारेर बेगनास तालमा हुने उक्त प्रतियोगिताले पोखराको खेल पर्यंटन प्रबद्र्धन गर्न टेवा पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशीक कार्यालयका प्रमुख नवीन पोखरेलले पोखराक्लिकलाई बताउनु भयो ।