गण्डकी प्रदेश सरकारको स्थापना दिवसको असवरमा प्रभातफेरी

-


     पोखरा क्लिक     
     फागुन ४ गते २०८० मा प्रकाशित


दीननाथ बराल

गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा आज (शुक्रबार) प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुक्रबार बिहान ८ः०० बजे पोखराको शहिद पार्कबाट प्रभात फेरी आयोजना गरिएको सरकारका प्रवक्ता एवं उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भयो ।

उक्त प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत भएको छ । प्रभातफेरीमा विभिन्न जनजातिको भेषभुषामा बाजा गाजा सहितको र्याली भएको थियो ।

र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, प्रदेश सांसद, कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाई प्रमुख अतिथीको रुपमा निम्तो गरिएको भए पनि यहाँको स्वास्थ्यमा समस्या भएका कारण कार्यक्रममा उपस्थिति हुन सक्नु भएन ।

गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले बताउनु भयो । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था तथा सार्वजनिक संस्थामा बिदा हुने उहाँले जनाउनु भयो ।