दीननाथ बराल
पोखरा ३, फागुन
गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा भोलि (शुक्रबार) सावर््जनिक बिदा दिएको छ भने विहान प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गर्ने भएको छ ।
प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुक्रबार बिहान ८ः०० बजे पोखराको शहिद पार्कबाट प्रभात फेरी आयोजना गरिने भएको सरकारका प्रवक्ता एवं उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भयो । उक्त प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत हुने भएको उहाँले पोखराक्लिकलाई बताउनु जनाउनु भयो । प्रभातफेरीमा विभिन्न जनजातिको भेषभुषामा बाजा गाजा सहितको र्याली हुने भएको छ ।
र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, प्रदेश सांसद, कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता हुने भएको छ । उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाई प्रमुख अतिथीको रुपमा निम्तो गरिएको छ । प्रदेश सरकारले स्थापना दिवसको अवसरमा कर्मचारी सहित विभिन्न संघ संस्थाहरुलाई सम्मान गर्ने भएको प्रवक्ता तिवारीले जनाउनु भयो ।
गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले बताउनु भयो । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था तथा सार्वजनिक संस्थामा बिदा हुने उहाँले पोखराक्लिकलाई बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेशबासिमा व्यक्त गर्नु भएको शुभकामना सन्देश जस्ताको तस्तै तल प्रस्तुतः गरिएको छ ।
शुभकामना
गण्डकी प्रदेश सरकारले छैँटौ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण गण्डकी प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात प्रथमपटक प्रदेश सरकारको गठन भएको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष फाल्गुन ४ गतेलाई प्रदेश सरकारको स्थापना दिवसको रूपमा मनाउँदै आएका छौं । नेपालमा संघीय लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना तथा जनजीविका प्राप्तिको लागि भएका सबै आन्दोलन तथा संघर्षको क्रममा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । साथै यस क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका सबै प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
संविधानले कार्यजिम्मेवारी र जनताको अपेक्षालाई पूरा गर्ने क्रममा प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुन बमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात गरी नागरिकसामु लोकतन्त्रका लाभाशंहरुको समन्यायिक वितरण गरी सुशासनलाई स्थापित गर्न प्रयत्नशील रहेको यसै अवसरमा सहर्ष जानकारी गराउदछु । यसै क्रममा प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको छ । गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले “आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी” सोच अगाडि बढाएको छ । नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ ।
सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले संबोधन गरिरहेको छ । शासकीय प्रणालीमा निरन्तर आएको परिवर्तन, प्रविधिको विकास र विश्वव्यापीकरणका कारण विश्वतहमा गर्नुपर्ने अन्तरक्रियाले स्वरुप, संरचना र शैलीमा निरन्तर परिवर्तन र सुधारको दिशा निर्दिष्ट गरेको महसुस गरेको छु । सरकारको सफलता र प्रभावकारिता बहुपात्रहरुको साझेदारीमा प्रमुखरुपले निर्भर रहने भएकोले ६ वर्षसम्म सरकारले संचालन गरेका कार्यहरू र ती कार्यक्रमहरूबाट प्राप्त गरेका उपलब्धिहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
गण्डकी प्रदेशलाई आजको अवस्थासम्म ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पूर्व मुख्यमन्त्रीज्यूहरु, प्रदेश सभा सदस्यज्यूहरु, राजनीतिक दलहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, संचार जगत लगायत सम्पूर्ण प्रदेशवासीलाई स्थापना दिवसको धन्यवाद ।
मा.मुख्यमन्त्री
सुरेन्द्रराज पाण्डे