पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (मंगलबार) देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० हुने भएको छ । पोखरा ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा मंगलबार हुने उद्घाटन खेलमा शान्ति निकुञ्ज स्कुल र पोखरा किन्डरगार्डेन मावि (पि.के.जी.) बिच प्रतिष्प्रर्धा हुने भएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु भयो ।
त्यसै गरी मंगलबार नै दिउँसो १ः०० बजे पछि शिशु कल्याण स्कुल र पोखरा स्पाइरल स्कुल बिच खेल हुने भएको हो । फागुन ६ गतेसम्म संचालन हुने तेश्रो संस्करणको उक्त प्रतियोगिताको उद्घाटन मंगलबार बिहान ११ः०० बजे हुने भएको क्लवले जनाएको छ ।
पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा हुने यस प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा बिद्यालयहरुको सहभागिता हुने भएको पूर्व अध्यक्ष पदम ढकालले बताउनु भयो ।
६ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको छ । हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको सचिव राकेश श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको गत बर्षको विजेता छोरेपाटन मावि हो ।
फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता हुन लागेको क्लवले जनाएको छ । क्लवले विभिन्न सरसफाई देखिका आर्थिक सहयोग गर्ने लगायका सामाजिक काम गर्दै आएको अध्यक्ष गुरुङले दाबी गर्नु भयो ।