सागर सुनार
पोखरा २८, माघ
पोखरामा आइतबार देखि सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१६) क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाउँमा स्थापना गरिएको मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टिम गण्डकीले गर्णाली प्रदेशलाई सुपर टाईमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
२५÷२५ ओभरको खेलमा गण्डकीले २३.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन जोड्न सफल हुदा १ सय २१ रनको लक्ष्य पाएको कर्णालीले २२.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाउँदा खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा कर्णालीले १ विकेटको क्षतीमा १० रन जोड्दा गण्डकीले ५ बलमा जितका लागि आवश्यक ११ रन जोड्दै जित हासिल गर्यो ।
गण्डकीका रुपेश थापाले सर्वाधिक ३५ रनको योगदान दिए भने अर्का व्याटर सरोज बहादुर खत्रीले ३२, दिपेन्द्र बहादुर भण्डारीले २५ र सफल श्रेष्ठले ११ रनको योगदान दिनु भयो । कर्णालीका लागि दिपक खत्री, विपिन शर्मा, आदित्य विक्रम शाह र कवी वमले समान २–२ विकेट हात लिनु भयो ।
त्यस्तै कर्णालीका ब्याटर विर्जन न्यौपानेले ३७ रन, भुपेन्द्र शाहीले २३ र आदित्य विक्रम शाहले ११ रन जोड्दा गण्डकीका लागि सोनु यादव र समिर भुजेलले समान २–२ विकेट लिनु भएको थियो । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं संघिय सांसद पृथ्वीसुब्बा गुरुङले विभिन्न उमेर समुहमा हुने प्रतियोगिताले नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुने हँुदा यसमा सपना देखेर लाग्न खेलाडीलाई आग्रह गर्नु भयो । नेपालमा खेलकुदका पूर्वाधार निर्माण कमजोर अबस्थामा रहेको उल्लेख गर्दै उहाँले नेपालको सिंगो खेल क्षेत्रलाई अघि बढाउन अब बिद्यालयको मावि तहमा खेलकुद बिषयलाई समेट् लागिएको बताउनु भयो ।
मनमोहन क्रिकेट एकेडेमीका अध्यक्ष एवं संघिय सांसद ठाकुर गैरेले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई यूवा पुस्ता माझ परिचय गराउन नेपाल क्रिकेट संघको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । फागुन ७ सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका खेल संचालन हुनेछन् ।
लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् । विजेता टिमले नगद १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिने भएको सुमनराज कार्कीले पोखराक्लिकलाई बताउनु भयो ।