इटहरीका गौतम र काठमाण्डौंका तामाङ पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिताको फाइनलमा प्रबेश

-


     पोखरा क्लिक     
     माघ २६ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

इटहरीका आयुष गौतम र काठमाण्डौंका वाङचुक तामाङ पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को फाइनलमा प्रबेश गर्नु भएको छ । आज (शुक्रबार) भएको सेमिफाइनलमा दुबै जनाले जित हासिल पार्दै फाइनलमा यात्रा बनाउनु भएको हो ।


पोखराको ड्यामसाइडमा रहेको बि एण्ड बि कम्प्लेक्स स्थित फाइनल स्कोर स्पोर्टस बारमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीका गौतमले काठमाण्डौंका राजन लामालाई ६—५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुग्नु भएको हो । त्यसै गरी अर्को खेल सेमिफाइनलमा काठमाण्डौंका तामाङले अन्तराष्ट्रिय काठमाण्डौंकै खेलाडी रेगन श्रेष्ठलाई ६—१ को सेटमा सहज जित हासिल गर्दै फाइनलमा यात्रा बनाउनु भएको हो ।

सेमिफाइनल खेल वेष्ट अफ इलाभेनमा भएको हो । गौतम र तामाङ उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कारको लागि आइतबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । फाइनलमा पुग्ने दुबै खेलाडी नेपालका उत्कृष्ट मध्यका स्नोकर खेलाडीहरु हुनुहुन्छ ।

काठमाण्डौंका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई भने ट्रफीको साथमा जनही २०÷२० हजार पुरस्कार प्राप्त गर्नु हुने भएको छ । यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो ।

प्रतियोगितामा उपविजेतालाई ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेको छ ।