दीननाथ बराल
पोखरा, १५ माघ
मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मनाङलाई सडन डेथको शिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग सेमिफाइनलमा यात्रा पक्का गरेको हो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार विपक्षी जावलाखेलका गोलरक्षक युनेष चौधरीले उत्कृष्ट बचाऊ गरेपछि जित सुनिश्चित भएको हो । पेनाल्टीमा दुवै तर्फबाट ४–४ गोलले खेल बराबरी भएको थियो । त्यसपछि ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याउनु भयो । लगत्तै मनाङका कीपर जियारथ शेख आफैं अघि बढ्नु भयो । उहाँले प्रहारबाट नतिजा ६–६ मा आयो । लगत्तै, जावलाखेलका प्रदीप बुढाथोकीको पेनाल्टी सुटआउटमार्फत ७–६ को स्थितिमा आउँदा मनाङका रणदीपको पेनाल्टी प्रहार कीपर युनिशले बचाउँदा उहाँ नायक बन्नु भयो ।
आहा राराको २३ औं संस्करणसम्म पहिलो संस्करण (क्याराभान) बाहेक अन्य संस्करणमा यसखालको नतिजा आएको थिएन । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै पक्षबाट १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि निर्णयार्थ पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो ।
निर्धारित समय सकिनै लाग्दा मनाङले गोल गर्दै बराबरी खेले पनि अन्ततः पहिलो खेलबाटै पराजित हुनुपरेको छ । जबकि मनाङ आहारारामा पुलिस समान सर्वाधिक ६ पटकको विजेता हो ।
जावलाखेलले ५५ औं मिनेटमा अग्रता लिएको हो । सुदीप श्रेष्ठले दिएको पासमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । मनाङले ८९ औं मिनेटमा राजेश परियारको मद्दतमा गोल गर्दै खेल बराबरी पुर्याएको थियो ।
यसैबिच, मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्याइज युनाइटेड क्लल बीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनु भयो ।