विन्ध्यबासिनीलाई दुई लाख नगद सहित श्रीपती समाजसेवा पुरस्कार अर्पण

-


     पोखरा क्लिक     
     पौष २१ गते २०८० मा प्रकाशित



पोखरा, २१ पुस

पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई नगद २ लाख सहित श्रीपती समाज सेवा पुरस्कार २०८० अर्पण गरिएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट यस बर्ष धार्मि एवं सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान दिएको उक्त समितिलाई गुठीले पुरस्कार अर्पण गरेको हो ।


श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसरमा शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं उद्योगपती गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई नगद २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित ताम्रपत्र, दोसल्ला तथा पदकले सम्मान गरिएको गुठीका सदस्य एवं युवा व्यवसायी नवराज कोइरालाले बताउनु भयो ।

विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले नेपालको धार्मिक एवं पर्यटकीय तिर्थ स्थल मध्यको एक विन्ध्यबासिनी मन्दिरको संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा विभिन्न कार्य गर्दै आएको छ । समितिले बहुउद्देश्यीय सत्संग भवन, एम्बुलेन्स सेवा, प्राकृतिक चिकित्सालय, विन्ध्यबासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप, विभिन्न देवी देवताका मठ मन्दिरहरु, विन्ध्यबसिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासिय रुपमा संचालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवा समेत सञ्चालन गर्दै आएको छ ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत हुनु भएको छ । श्रीपती कोईराला गुठी १८६४ सालमा जन्मनु भएका श्रीप्रसाद कोईरालाको नाममा स्थापित संस्था हो । विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा दिएको पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उहाले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोईरालाले बताउनु भयो ।