रंगरोगनले थप आकर्षण बन्दै बिशाल महादेव मुर्ति

-


     दीननाथ बराल    
     पौष १९ गते २०८० मा प्रकाशित




त्यसै त हजारौं पर्यटकहरुलाई आकर्षण गरेको बिशाल महादेव (भुमेश्वर) को मुर्तिले अझ थप आकर्षण बनाउन रंगरोगन गर्न थालिएको छ । मुर्तिको केही भागमा फुर्सो त केही रंग खुइलिएको कारण शिव मुर्तिलाई सबैको थप आकर्षण बनाउन पनि हाल रंग रोगन गर्न लागिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं उक्त बिशाल महादेव मुर्ति निर्माण समितिका संयोजक समेत रहनु भएका चन्द्रकान्त बरालले बताउनु भयो ।

करिब १४ लाखको लागतमा महादेवको मुर्तिमा रंगरोगन हुने भएको छ भने करिब २ महिनासम्म त्यसको रंगरोगनको काम हुने भएको समितिले पोखराक्लिकलाई जनाएको छ । पोखरा क्षेत्रमा रहेका अनुभवी कालिगणबाट हाल मुर्तिमा रहेको पुरानो रंगको भाग खुर्कीयर फालेसंगै नयाँ रंगरोगन गरिने भएको हो ।

५१ फिट अग्लो बिशाल महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डमरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी) १०८ धारा जडित तेस्रो आँखा २१६ शिवलिङग, १०८ स्वर्गद्वारी सिंढी, शिव ताण्डब नृत्य तथा अन्तराष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा भगवान गणेश परिक्रमा, सुमेरु पर्वतमा कुमार पार्वतीको मृति, शौचालय सहित सुबिधा सम्पन्न प्रशासनिक भबन, फूलमाला बिक्रिका लागि ४१ वटा व्यवसायीक शटर, कम्पाउड वाल, २०० मिटर पक्की पहुँचमार्ग लगायतका भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताउनु भयो ।

पोखरा २२ मा रहेको बिशाल महादेव मुर्ति परिसरमै धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा हालै दुई करोडको लागतमा सुमेरु पर्वत निर्माण गरिएको छ । समितिले कुमार र पार्वतीको मुर्ति सहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा हालै निर्माण गरेको हो । उक्त परियोजनामा बाँकी ३ करोड लगानी आवश्यक भएको अध्यक्ष बरालले बताउनु भयो । उक्त परियोजनामा लाईटिङ्गको लागी थप दुई करोड ५४ लाख र रुङगटा वैकुण्ठ हलको ईको साउण्ड कन्ट्रोलका लागी करिब ४२ लाख गरि ५ करोड लाग्ने प्राविधिक ईष्टमेट रहेको अध्यक्ष बरालको दाबी छ । उक्त संरचना निर्माणमा हालसम्म करिब २७ करोड खर्च भएको समितिले जनाएको छ भने अझै १३ करोडको भौतिक संरचना निर्माण गर्न बाँकी रहेको जनाएको छ ।

पोखरामा आउने पर्यटकहरुलाई साँझमा लेजर लाइट मार्फत महादेवको मुर्तिलाई पर्दा बनाई शिव दाण्डव नृत्य, महादेवको शिव लिला समेत प्रर्दशनी गरिने परिकल्पना गरिएको अध्यक्ष बरालको भनाई छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्बत नामकरण गरी भूमेश्वर महादेव देखि सुमेरु पर्बतसम्म पंहुचका लागि विधुतीय चियर कार, ग्रिनेरी पार्क, ब्यबस्थित पार्किङ स्थल निर्माण गर्ने बिषयहरु समेटिएको उहाँले जनाउनु भयो ।



This will close in 20 seconds