
पोखरा,१६ पुस
पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले एक समारोहकाबीच उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले सहकारी संस्थाहरु नाफामूखी मात्र भएर आफ्नो जिम्मेवारी पूरा नहुने उल्लेख गर्नुभयो ।उहाँले सहकारी संस्थाहरुले सहकारीका सिद्धान्त अक्षरस अनुसरण गर्दै सदस्यहरुको हित र सामाजिक उत्तर दायित्वलाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा सञ्चालक र कर्मचारीको मात्र हालिमुहाली हुन नहुनेमा जोड दिँदै तिवारीले भन्नुभयो,“सदस्यको क्रियाशीलता र सहभागिताबाट मात्र संस्था बलियो हुन्छ ।” सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार पदमबन्धु पोखरेलले सेवाको भावनाले सहकारी संस्थाहरु सञ्चालन हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षण गरी संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट र अनुकरणीय संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । संस्थाका सल्लाहकार क्या कृष्णबहादुर थापाले संस्थालाई सफल बनाउने मुख्य जिम्मेवारी सदस्यहरुको रहेको उल्लेख गर्नुभयो । संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रेवतिरमण भण्डारीले गर्नुभएको थियो ।
साधारण सभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको छ । साधारणसभाको अवसरमा एसइइी परीक्षा २०७९ तथा कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । संस्थामा हाल चार हजार १३९ सदस्य रहेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिनुभयो ।