पोखरा ६, पुष
नेपाल भूतपूर्व खेलाडी मञ्चले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि वैकल्पिक रुटको अध्ययन सुरु गरेको छ । पोखरामा हरेक वर्ष आयोजना हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय चर्चा बढेसँगै सडक सुरक्षा र प्राकृतिक दृष्यलाई आकर्षण गराउने लक्ष्यसहित वैकल्पिक रुटको अध्ययन सुरु गरेको हो ।
शुक्रबार नयाँ रुट अध्ययन गर्दै मञ्चले पोखरा महानगरपालिका वडा नम्बर २३ मा छलफल समेत गरेको छ । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा म्याराथनलाई थप सुरक्षित र व्यवस्थित बनाउने उदेश्यका साथ नयाँ रुटको अध्ययन सुरु गरेको जानकारी दिए । उनले शुक्रबार रुटको अनुगमन गर्दै वातावरणको हिसाबले समेत निकै उत्कृष्ट रहेको सुनाए । ‘सडक सुरक्षा मुख्य कुरा हो धावकका लागि । हामीले म्याराथन गरिरहँदा अब पहिलो जस्तो रहेन । विश्व म्याराथन र एम्ससँग जोडिएपछि यसको उचाई बढेको छ त्यसैले पनि हामी बढि हौसिएका छौं’ उनले भने, ‘हामीले सरक्षा र प्रकृति दुई कुरालाई जोड दिदैँ बैकल्पिक रुटको खोजी गरिरहेका छौं ।
म्याराथनलाई थप रोमाञ्चक बनाउन बजारसँगै ग्रामिण इलाकालाई समेत छुने प्रयास मञ्चले गरेको छ । महिला हाफ म्याराथनका लागि समेत सोही रुटतर्फ रहेको छ । यस्तै अन्य १० किमि, पाँच किमिको दौडको समेत बैकल्पिक रुट खोजी भइरहेको छ । मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथनका लागि नयाँ रुटको अध्ययन गरेको सुनाए । उनले सिटी म्याराथनको अवधारणालाई आत्मसात गर्दै धावकहरुको लागि थप ट्राफिक सुरक्षा दिने हेतुले नयाँ रुटको अध्ययन गरेको जानकारी दिए ।
‘हामीले नयाँ रुटको बारेमा अध्ययन गरेका छौं पहिला हामीले सिटी भित्रै(पोखरा) दौडाउने गरेका थियौँ भने अब सिटीसँगै ग्रामिण क्षेत्रसमेत जोड्ने प्रयत्नका साथ वैकल्पिक सोँच बनाएका छौं’ उनले भने । हल्लनचोक देखि माथिल्लो क्षेत्रलाई समेत म्याराथनमा समेट्दै स्थानीय खेलाडी तथा विद्यालयका खेलाडीलाई समेत प्रतियोगितामा सहभागिता गराईदिन अनुरोध गरे । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले म्याराथनलाई व्यवस्थित बनाउँदै स्वच्छ वातावरणमा दौडाउने प्रयासगर्दै वैकल्पिक रुटको खोजी गरेको बताए ।
पोखरा महानगरपालिका वडा २३ का वडाअध्यक्षले अन्तर्राष्ट्रिय म्याराथनको रुटका लागि आफुहरु स्वागत गर्न तयार रहेको बताए । उनले पोखराको नयाँ वडाको रुपमा रहेको वडा २३ प्राकृतिक हिसाबले समेत निकै सुन्दर रहेकाले यहाँको विकासका लागि यो प्रतियोगिताले टेवा पुग्ने बताउँदै यहि रुटको प्रयोग गर्न समेत अनुरोध गरे ।
‘प्राकृतिक हिसाबले यो असाध्यै राम्रो ठाउँ हो । फेवातालेका मुहाना हो खहरेखोला र अर्पन खोलालाई जोगाउने हाम्रो अभियान हो । हामीले धेरै प्रयास गरेका छौं’ उनले भने । तालको किनारदेखी सिरानसम्म छुने वडाबाट खेलाडीलाई दौडाउन उनले अनुरोध गरे । उनले पोखरा म्याराथनका लागि वडाले गर्नुपर्ने आवश्यक सहयोग गर्न समेत तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
‘हामी यो वडाभित्र पर्ने रुटको सडकमा भएका बाधाहरु सबै हटाइदिन्छौं । यहाँ परेका खाल्डाखुल्डी पुर्नेदेखि खेलाडीलाई स्वागत गर्न स्वागत गेट, झाकीँ लगायत आवश्यक व्यवस्था वडाले नै मिलाउछौं’ उनले भने, ‘हामी यो वडामा आउनुस् भन्ने चाहान्छौं । नेचुरल्ली व्यटी भएको ठाउँ प्रदुषण रहित छ यहाँ धावक ल्याउनुहोस् भन्ने चाहान्छौ यहि हाम्रो प्रतिबद्धता छ ।’