सागर सुनार
पोखरा १८, मंसिर
लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस पहिलो साता देखि सुरु हुने १९ औं संस्करणको लेखनाथ महोत्सव २०८० मा यस बर्ष कृषि देखि स्थानिय उत्पादनलाई बढी प्रथामिकता दिने भएको छ । पुष ५ देखि १६ गतेसम्म तालचोकमा हुने उक्त महोत्सवमा यस बर्ष कृषि देखि स्थासिनय उत्पादन भएका बस्तुहरुलाई प्रथामिकता दिने भएको लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाउन सफल लेखनाथ महोत्सवको तयारीलाई तीव्र पारिएको संघका अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भयो । स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने उहाँले जनाउनु भयो । उक्त महोत्सवले ‘स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पु¥याउने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो । सबै जातजाति र संस्कृतिलाई समेटेर लेखनाथको पहिचान चिनाउन पनि महोत्सव सहयोगी हुने उहाँको भनाई छ ।
यस पटक महोत्सवलाई अझ बढी दर्शकको उपस्थिति रहने गरी तयारी गरिएको संघका प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले दाबी गर्नु भयो । महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको महासचिव जानुका पराजुलीले जानकारी दिनु भयो । महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । ती मध्ये ७६ प्रतिशत स्टल बुकिङ भइसकेको संघले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू बिक्री तथा प्रदर्शनी गरिने भएको हो ।
विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरू दर्शकको रोजाइमा पर्ने आयोजकको दाबी गरेको छ । महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौँडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले बताउनु भयो । उक्त महोत्सवमा करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।