पोखराका मुख्य तीन ठाउँमा छठ पर्व मनाउने तयारी

-


     पोखरा क्लिक     
     मंसिर २ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २, मंसिर

बिषेश गरी तराई मधेशमा मनाइने छठ पर्व विगत दुई दशक देखि पोखरा क्षेत्रमा पनि विभिन्न स्थानमा धुमधामका साथ मनाउन थालिएको छ । यसै क्रममा पोखराका मुख्य गरी तीन स्थानमा यस बर्ष पनि धुमधामका साथ उक्त पर्व मनाउने तयारी गरिएको छ ।

पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पूजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गरी हाल सजिसजावट झिलिमिलि बत्ति जडान देखि टेण्ट समेत हालिएकोे छ । सुर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पुजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापनमा जुटेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनु भयो । उहाँका अनुसार यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाउन आन्तरिक तयारी गरी शुक्रबार देखि रंगरोगन र झिलिमिलि बत्ती समेत जडान गरिएको छ । कम्तिमा पनि ५ सय जनालाई पूजा आज गर्न मिल्ने गरी आन्तरिक व्यबस्थापनमा आफुहरु जुटेको उहाँको भनाई छ ।

केदारेश्वर महादेवमणि क्षेत्रमा बुधबार देखि सरसफाई गर्न सुरु गरिएको एन.बी.व्यवसायी छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । सरसफाईसंगै छठ पुजा स्थलमा रंगरोगन सहित झकिझकाउ पारिएको उहाँले जनाउनु भयो । त्यसै गरीे विगत दुई दशक भन्दा लामो समय देखि तराई मुलका नेपालीहरुले पोखराका विभिन्न ठाँउमा छठ पूजा मनाउन थालिएको हो । पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेको एन बी व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष भूनेश कुमारले बताउनु भयो ।

विगत ८ बर्ष देखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाँट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ छठ पर्व मनाउदै आएको हरिश्चन्द्र प्रसाद कुशवाहाले बताउनु भयो । छठ पूजा समिति कालिखोलाका अध्यक्ष समेत रहनु भएको कुशवाहाले करिब एक सय जना सूर्यका भक्तहरुलाई पूजा आज गर्ने गरी आन्तरिक व्यबस्थापनमा आफुहरुले आज नै टेण्ट सहिको सजिसजावट गरिएको बताउनु भयो । उक्त छठ पर्वको पूजामा आगन्तुकहरुलाई सोमबार उदाउदो सुर्यलाई अर्घ दिए पछि ठेकुवा सहितको प्रसाद समेत वितरण गरिने भएको उहाँले जनाउनु भयो । यस बर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) आइतबार मंसिर ३ गते परेको छ । यसपाली सष्ठी तथा सप्तमी मंसिर ३ गते परेको छ । सुर्यका भक्तहरुले सोमबार बिहान उदाउदो सुर्यलाई अर्घ दिने भएकाछन्। सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल,ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्नु हुन्छ । बजारमा छठ पुजाका सामाग्रिहरु किन्नेहरुको उत्साहजनक रुपमा सहभागिता रहेको एक व्यवसायी रोविन गुप्ताले बताउनु भयो । छठ पुजाको चतुर्थी (शुक्रबार) का दिन नुहाउने र चोखो खाने गरेका सूर्यका भक्तले आज (शनिबार) पञ्चमीमा दिनभर व्रत बस्ने (खड्ना) र राति पुजा गर्ने प्रचलन रहेको छ । आइतबार दिन भरी कोहीले त पानी समेत नखाई व्रत बस्ने गर्नु हुन्छ । भोलि पल्ट सोमबार बिहान सूर्यलाई अर्घ दिए पछि मात्र खाना खाने प्रचलन रहेको छ ।

छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गर्ने गर्नु हुन्छ । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उहाँहरु पूजा आज गर्न गर्नु हुन्छ । पोखरामा यसरी विभिन्न स्थानमा व्यबस्थित ढंगले छठ पर्व मनाउन थाले पछि तराई तथा मधेशमा गएर मनाउने उक्त पवै पहाडमै मनाउन थालिएको हो । यस पर्वमा पहाडी मुलका केही व्यत्तिहरुले समेत मनाउन थालेको पाइन्छ।