दीननाथ बराल
पोखरा २६, कार्तिक
पोखराको पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुन लागेको अत्याधुनिक डिजाइनका दुई वटा पक्की पुलको शिलन्यास गरिएको छ । पोखराको सेतीनदी माथि टावर सहितको दुई वटा पक्की पुल निर्माण गर्ने कामको अनौपचारिक रुपमा केही समय अघि देखि सुरु भए पनि यसको औपचारिक रुपमा शनिबार एक समारोहका बिच शिलन्यास गरिएको हो ।
रसुवा कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) निर्माण गर्न लागेको उक्त पुलको शनिबार नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्दै निर्धारित समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नु भयो । निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने उहाँले विश्वास दिलाउदै उक्त पुल निर्माण भएसंगै पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने दाबी गर्नु भयो । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताउनु भयो ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उहाँले पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गर्न आवश्यक पहल गने प्रतिबद्धता व्यक्त गनर््ु भयो । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको मन्त्री ज्वालाको भनाई थियो । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उहाँले दाबी गर्नु भयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताउनु भयो । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उहाँले दाबी गर्नु भयो । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने मेयर आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. ९ र १० जोड्ने सेती नदी पुल निर्माणको कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले ठेक्का पाएको हो । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०÷१९० मिटरका २ वटा पुलहरू निर्माण हुने भएको कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाले बताउनु भयो । उहाँका अनुसार हाल निर्माण हुने उक्त पुलको बिचको स्पाम १ सय ४० मिटर, फुटपाथको क्षेत्र २५÷२५ मिटरको स्पाम क्षेत्रफल राखि भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गर्नु भयो । हाल संचालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइडमा दुई वटा पुल चाइना पुलकै लेवलमा निर्माण हुने भएको हो । गाडी गुड्ने भाग साँढे ७ मिटर फुटपाथको रुपमा भने दुबै पुलको ३÷३ मिटरको क्षेत्र रहने भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गर्नु भयो । साँढे १० मिटरको पक्कि पुल निर्माण हुने भए पनि केही भाग टावर सहित गर्दा १३ मिटरको उक्त पुल निर्माण हुने भएको देवकोटाले बताउनु भयो ।सेतीको भाग जोखिम होला भनेर आफुहरुले भने १ सय ४० मिटर लामो क्षेत्रमा जग राखेर उक्त पुल निमार्ण गर्ने उहाँले बताउनु भयो ।