सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकप कार्तिक ११ गते देखि हुने

-


     पोखरा क्लिक     
     असाेज १७ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १७, असोज

पोखराको हेमजामा यस बर्ष सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकाउट फूटबल प्रतियोगिता २०८० आउँदो कार्तिक ११ गते देखि हुने भएको छ । पोखरा २५ स्थित हेमजा युनाइटेडकोे आयोजनामा आउँदो कार्तिक ११ देखि १८ गतेसम्म हेमजाको गौरीशंकर खेल मैदानमा उक्त प्रतियोगिता हुने भएकोे संस्थाका अध्यक्ष राजेश त्रिपाठीले बताउनु भयो ।

प्रतियोगितामा एक विदेशी सहित नेपालका ए डिभिजका ८ टिमको सहभागिता हुने तयारी अनुमान गरिएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । कम्तिमा एक विभागिय टोली समेत सहभागि हुने गरी आन्तरिक तयारी गरेको उहाँको भनाई छ ।

प्रतियोगितामा विजेताले ६ लाख ५५ रुपैया र उपविजेताले ३ लाख ५५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको प्रतियोगिताका आर्थिक संयोजक महादेव अधिकारीले बताउनु भयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, संर्वाधिक गोलकर्तालाई २५ हजार, अनुशासित टोलीलाई २५ हजार प्रदान गरिने भएको छ । प्रतिोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षक गरी ५ विधाका खेलाडीहरुलाई जनही २०÷२० हजार पुरस्कार प्रदान गरिने भएको छ । हरेक खेलको म्यान अफ दी म्यानलाई ५ हजार नगद सहित पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त गोल्डकप हेमजाको गौरव भएकोले यसमा सबै क्षेत्रको सहयोग आवश्यक भएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । ७ दिन चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब ५८ लाख ८४ हजार खर्च लाग्ने भएको छ भने प्रतियोगिताबाट ७० लाख आम्दानी गर्ने लक्ष्य राखिएको आर्थिक संयोजक अधिकारीले बताउनु भयो । युवा एकता र विकासका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्र्न लागिएको प्रतियोगिताबाट बचत रकम ४० प्रतिशत रकम हेमना यूनाइटेड एकेडेमी सञ्चालानार्थ खर्च गरिने भएको छ भने बाँकी रकम प्यारापिट निर्माणमा लगायतका सामाजिक कार्यमा खर्च गरिने भएको सचिव सूनिल गायकले बताउनु भयो । संस्थाको अगुवाईमा उक्त गोल्ड कप सम्पन्न गर्न चरणवद्ध रुपमा स्थानिय क्लव, आमा समुह लगायतसंग छलफल भई रहेको संस्थाले जनाएको छ ।