
दीननाथ बराल,
पोखरा, १० मंसिर,
इभेण्टै इभेण्टको शहर पोखरामा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा आउँदो शनिबार पोखरा महानगरपालिका–२६, लेखनाथ स्थित नौबिसे टोलमा उक्त महोत्सव हुने तयारी गरिएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पर्यटन प्रवद्र्धनसँगै स्थानीय कृषि, कला, संस्कृति र परम्परागत खानालाई पर्यटनसँग जोड्ने उद्देश्यले पोखरामा उक्त महोत्सवलाई निरन्तर आयोजना गर्न लागिएको परिषदले जनाएको छ । सन् २०२१ देखि सुरु गरिएको दाइँ महोत्सवले ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारालाई आत्मसात् गर्दै पोखरालाई वर्षभरि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको परिषदका अध्यक्ष हरि भुजेलले बताउनु भयो । महोत्सवले परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्दै नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कृतिसँग परिचित गराउने अपेक्षा गरिएको छ । अध्यक्ष भुजेलले यस वर्षको महोत्सवमा ५० जनाभन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले दाइँ महोत्सवले पोखराको पर्यटनलाई नयाँपन दिनुका साथै स्थानीय कृषि र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दाइँ महोत्सव आन्तरिक पर्यटनका लागि मात्र नभई विदेशी पर्यटकका लागि समेत महत्वपूर्ण आकर्षण बन्ने बताउनुभयो । उहाँले नेपाली समाजको बाल्यकाल र ग्रामीण जीवनशैलीसँग दाइँको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधि र औद्योगिकीकरणसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा इभेन्टहरूको सहरका रूपमा विकसित हुँदै गएको बताउँदै यहाँ आयोजना हुने गतिविधिलाई बोर्डले प्रवद्र्धन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता मौलिक कार्यक्रमले पोखराको पर्यटनलाई विविधीकरण गर्न र पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पु¥याउँछन् ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले दाइँ महोत्सव पछिल्लो समय पोखराको छुट्टै पर्यटकीय ब्रान्डका रूपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले यस वर्ष पोखरामा धान उत्पादनसमेत वृद्धि हुने दाबी गर्दै कृषि र पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो । कार्यक्रम संयोजक हरिराम अधिकारीले महोत्सवको तयारी र कार्यक्रमबारे जानकारी दिँदै यस वर्षको महोत्सवलाई विगतका संस्करणभन्दा थप प्रभावकारी र आकर्षक बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले मौलिक कृषि परम्पराको संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण महोत्सवका मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । महोत्सवमा उत्कृष्ट किसानलाई सम्मान गर्ने, धान कुट्ने प्रतियोगिता, गुन्द्री बुन्ने, लट्टे तान्ने लगायतका परम्परागत खेल तथा प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक अधिकारीले जानकारी दिनुभयो । दाइँ महोत्सवले परम्परागत खेती प्रणाली र कृषि संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र कृषकको आयआर्जन वृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको परिषद्का महासचिव मिलन तिवारीले पोखराक्लिकलाई बताउनु भयो ।





