
पोखरा,
पोखरा लेडी जेसीजको अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना (गीता) निर्वाचित भएकी छन्। संस्थाको हालै सम्पन्न ३३औँ शाखा अधिवेशन तथा ३८औँ वार्षिक साधारणसभाले ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

सामाजिक क्षेत्रमा सक्रिय ढुंगाना लामो समयदेखि पोखरा लेडी जेसीजमा आबद्ध रहँदै आएकी छन्। यसअघि संस्थाको कानुनी सल्लाहकारको जिम्मेवारी सम्हालेकी उनी केही दिनअघि मात्र पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा समेत मनोनीत भएकी थिइन्। विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएकी ढुंगानाको नेतृत्वमा संस्थाले आगामी दिनमा सामाजिक उत्तरदायित्व, महिला नेतृत्व विकास तथा व्यक्तित्व विकासका क्षेत्रमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा जेसी शुभद्रा बराल चयन भएकी छन्। त्यसैगरी कानुनी सल्लाहकारमा जेसी सृजना आले, सचिवमा जेसी विनिता केसी, कोषाध्यक्षमा जेसी रचना अधिकारी र सहसचिवमा जेसी रेजिना कटुवाल चयन भएका छन्। यसैगरी उपाध्यक्षहरूमा जेसी अञ्जना सुवेदी, जेसी एलिशा गुरुङ, जेसी बविता केसी र जेसी अस्मिता पौडेल चयन भएका छन्। कार्यसमिति निर्देशकहरूमा जेसी सन्दीपा लम्साल, जेसी एलिशा गुरुङ, जेसी सामान पराजुली र जेसी पूजा भण्डारी चयन भएका छन्। शाखा सम्पादकमा जेसी करुणा पाण्डे तथा प्रकरण निर्देशकमा जेसी सरिता भुजेल चयन भएकी छन्।






