पोखराको केदारेश्वर महादेव मन्दिरमा देव दीपावली, पाँच हजार भन्दा बढी दीप प्रज्वलन

-


     पोखरा क्लिक     
     मंसिर ८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ८, मंसिर,

पोखराको लेकसाइडस्थित बैदाममा रहेको केदारेश्वर महादेव मणि मन्दिर तथा आश्रम परिसरमा कार्तिक पूर्णिमाको अवसरमा आज साँझ देव दीपावली महोत्सव आयोजना गरिएको छ । मंगलबार साँझ आयोजित महोत्सवमा पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिएसँगै मन्दिर परिसर झिलिमिली पारिएको हो ।

केदारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न महोत्सवमा मन्दिर परिसरका विभिन्न स्थानमा सामूहिक रूपमा दीप प्रज्वलन गरिएको हो । मन्दिर व्यवस्थापन समितिका पीठाधीश स्वामी चिद्धन चैतन्य (लेखनाथ आचार्य) का अनुसार यस वर्ष पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिएको हो । उहाँले कार्तिक पूर्णिमाका दिन देवालयमा दीपदान तथा दीप प्रज्वलन गर्दा विशेष पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । कार्तिक महिनाभर विभिन्न कारणले दीपदान गर्न नपाएका श्रद्धालु भक्तजनले पूर्णिमाका दिन दीप प्रज्वलन गर्दा महिनाभर दीपदान गरेसरह पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको स्वामी चिद्धन चैतन्यले जानकारी दिनुभयो । धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै मन्दिर परिसरमा विगत सात वर्षदेखि देव दीपावली महोत्सव आयोजना हुँदै आएको उहाँले बताउनुभयो ।

महोत्सवले केदारेश्वर मन्दिर परिसरलाई थप आकर्षक र उल्लासमय बनाएको स्थानीय पर्यटन व्यवसायी हेमराज पहारीले पोखराक्लिकलाई बताउनुभयो । उहाँका अनुसार दीप प्रज्वलनका कारण मन्दिर तथा आसपासको क्षेत्रमा छुट्टै रौनक थपिएको थियो । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ दीप प्रज्वलनमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । केही भक्तजनहरुले माटाको पाला, तेल र ज्योति सहित सहभागि हुनु भएको थियो । आज महाआरती समेत भएको छ । तष्विर सामाजिक संजाल ।