
पोखरा,
नेवा खल कास्कीको अध्यक्षमा अशोक पालिखे पुनः सर्वसम्मत निर्वाचित भएका छन्। हालै पोखरामा सम्पन्न संस्थाको अधिवेशनमा अध्यक्ष पदका लागि पालिखेको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन्। निर्वाचन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले पालिखे निर्विरोध निर्वाचित भएको जानकारी दिए।
अधिवेशनबाट कार्यसमिति सदस्यमा विक्रम उदास, शम्भुलाल श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, भैरवलाल श्रेष्ठ, चन्द्रबहादुर राज भण्डारी, कल्पना श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, ऋषभ तिमिला र प्रकाशलाल श्रेष्ठ चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष पालिखेले कार्यसमितिका सदस्यहरूमध्येबाट पदाधिकारीसमेत मनोनयन गरेका छन्। जसअनुसार उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र सुविन्द्र श्रेष्ठ, महासचिवमा भैरवलाल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर राज भण्डारी र सचिवमा शम्भुलाल श्रेष्ठ चयन भएका छन्। निर्वाचन सम्पन्न गराउन दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिमा निरञ्जन श्रेष्ठ, सुरसकुमार मानन्धर र संगीता बज्राचार्य सदस्यका रूपमा रहेका थिए।
यसअघि अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले नेवा खल कास्कीले सञ्चालन गर्दै आएका गतिविधि र संस्थाले पुर्याउँदै आएको योगदानबारे प्रकाश पारेका थिए। उनले जिल्लामा क्रियाशील विभिन्न जातीय तथा सामाजिक संस्थासँग सहकार्य गरेर सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी बन्दै गएको बताए। नेवारी कला, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि संस्था निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने धारणा राखेका थिए।
कार्यक्रममा नेवा खल कास्कीका कार्यसमिति सदस्य, सल्लाहकार, संस्थागत तथा पदेन सदस्य र आमन्त्रित सदस्यहरूको सहभागिता रहेको थियो। त्यसैगरी नेवा ल्याम्ह पुच, नेवा मिसा पुच, नेवा पत्रकार पुच, नेवा झिगु भाय् झिगु संस्कृति, कास्की जिल्लामा क्रियाशील कचाः खल, पुच खल, नेवा टोल समिति तथा तायामचा नाच समितिका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। उद्घाटन सत्रको सञ्चालन संस्थाका महासचिव कृष्ण कतिलाले गरेका थिए।





