एसटी क्रियसनको उपाधि प्रनाक्क्षी बस्याललाई

-


     पोखरा क्लिक     
     मंसिर ६ गते २०८३ मा प्रकाशित


पोखरा,

एसटी क्रियसन (ST Creation) को आयोजनामा शनिबार सम्पन्न ‘७औँ लिटिल फेयरी २०२६’ को उपाधि प्रतियोगी नम्बर ९ प्रनाक्क्षी बस्यालले जितेकी छन् । ११ वर्षीया प्रनाक्क्षी गण्डकी बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत मेधावी छात्रा हुन् । प्रतियोगितामा १४ जना फाइनल सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले लिटिल फेयरी २०२६ को ताज पहिरिन सफल भएकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लिटिल फेयरी बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उत्कृष्ट माध्यम बनेको बताइन् । प्रतियोगीहरूको प्रस्तुति र प्रतिभाबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले बालबालिकामा भविष्यका लागि प्रशस्त सम्भावना रहेको बताइन् । लिटिल फेयरी कार्यक्रमले नयाँ प्रतिभाको पहिचान तथा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भण्डारीले बालबालिकाको आत्मविश्वास, प्रतिस्पर्धात्मक क्षमता र सकारात्मक प्रतिस्पर्धी भावनाको विकासका लागि अभिभावकले पनि आफ्ना सन्तानलाई यस्ता कार्यक्रममा सहभागी गराउनुपर्नेमा जोड दिइन् । बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा उनले आयोजक एसटी क्रियसनलाई धन्यवादसमेत व्यक्त गरिन् ।

प्रतियोगितामा सहभागीहरूले इन्ट्रोडक्सन राउन्ड, ट्यालेन्ट राउन्ड र प्रश्न–उत्तर राउन्डमा आफ्नो प्रतिभा, आत्मविश्वास तथा व्यक्तित्व प्रस्तुत गरेका थिए । प्रतियोगितामा समूह ‘ए’ तर्फ नोराह गुरुङ र समूह ‘बी’ तर्फ उत्प्रेणा जोजिजू फर्स्ट रनरअप घोषित भएका छन् । त्यसैगरी समूह ‘ए’ बाट सुराध्या बस्नेत र समूह ‘बी’ बाट विधाता पराजुली सेकेन्ड रनरअप बनेका छन् ।

भ्युअर्स च्वाइस अवार्ड समूह ‘ए’ तर्फ आराध्या भण्डारी र समूह ‘बी’ तर्फ एरिना सुनारले प्राप्त गरेका छन् । लिटिल फेयरी २०२६ की विजेता प्रनाक्क्षीले उपाधिसहित क्राउन, अवार्ड, गिफ्ट ह्याम्पर तथा नगद १५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । प्रतियोगितामा सहभागी अन्य प्रतियोगीहरूले पनि विभिन्न विधामा अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् । जीत हाम्रो इभेन्टका प्रबन्ध निर्देशक राजेश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी सुरज थापा र गीता रानाले कार्यक्रम सञ्चालन गरेका थिए । बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक एसटी क्रियसनले जनाएको छ ।