
पोखरा, ६ मंसिर,
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीको जिल्ला इन्चार्जमा पार्टीका केन्द्रीय समिति सदस्य रामजीप्रसाद बराल ‘जीवन’ नियुक्त हुनुभएको छ। पार्टीको केन्द्रीय कार्यालयले मङ्सिर ६ गते पत्र जारी गर्दै बराललाई कास्की जिल्ला समितिको इन्चार्जको जिम्मेवारी दिएको हो। यसअघि जिल्ला समितिको सह–इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका बराललाई गण्डकी प्रदेश कार्यालयको बैठकको निर्णयअनुसार प्राप्त सिफारिसका आधारमा नयाँ जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ।
केन्द्रीय कार्यालयका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित पत्रमा निर्णय कार्यान्वयन गर्न तथा गराउन निर्देशन दिइएको छ। नयाँ जिम्मेवारी पाएसँगै बरालले पार्टीलाई जनतासँग थप नजिक बनाउने र नागरिकका वास्तविक समस्या तथा जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ। उहाँका अनुसार राजनीतिक दलको भूमिका संगठन विस्तार र राजनीतिक गतिविधिमा मात्रै सीमित हुनुहुँदैन। जनताले भोगिरहेका समस्या पहिचान गर्ने, उनीहरूका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल तथा वकालत गर्नु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारी हो।
जनताका दैनिक समस्या, विकास निर्माण, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहसँग जोडिएका विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउने उहाँको भनाइ छ। नागरिकले भोगेका समस्या सुन्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र समाधानका लागि निरन्तर दबाब तथा पहल गर्ने गरी पार्टीका गतिविधि अघि बढाउने उहाँले बताउनुभएको छ। कास्की जिल्लाको राजनीतिक तथा सामाजिक परिवेशमा जनतासँग प्रत्यक्ष जोडिएर संगठनलाई सक्रिय बनाउने, स्थानीय तहमा देखिएका समस्या र जनसरोकारका विषयमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने विषयलाई पनि उहाँले प्राथमिकता दिने जनाउनुभएको छ।






