‎माघ २३ देखि पोखराको भण्डारढिकमा आदर्श कप फुटवल प्रतियोगिता हुने, ८ टोलीको सहभागिता हुने

-


     पोखरा क्लिक     
     मंसिर ६ गते २०८३ मा प्रकाशित


‎‎दीननाथ बराल,
‎पोखरा ५ ,कार्तिक,
‎
‎पोखरा २९ को भण्डारढिकमा आयोजना हुँदै आएको आदर्श कप फुटबल प्रतियोगिताको २७औँ संस्करण आगामी माघ २३ गतेदेखि सुरु हुने भएको छ । फस्ट च्वाइस फुड्स लिमिटेड, रूपन्देहीको मुख्य प्रायोजनमा फागुन १ गतेसम्म सञ्चालन हुने भएको आयोजक आदर्श युवा क्लबले जनाएको छ ।

‎“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” नारासहित आयोजना हुने उक्त प्रतियोगितामा आठ टिमको सहभागिता हुने भएको क्लबका क्लबका अध्यक्ष विष्णु हमालले बताउनुभयो। ‎क्लबका उपाध्यक्ष सन्तोष गुरुङले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न संघसंस्था, व्यवसायी तथा खेलप्रेमीबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न तथा स्थानीयस्तरमा फुटबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
‎
‎त्यस्तै, अध्यक्ष हमालले आदर्श युवा क्लब खेलकुदको विकाससँगै सामाजिक उत्तरदायित्वका काममा समेत निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो। उहाँले फुटबल खेलको प्रवर्द्धन, खेलाडीको क्षमता विकास र खेल क्षेत्रलाई थप अगाडि बढाउन क्लब सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
‎
‎लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको आदर्श कपले लेखनाथ क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस वर्षको प्रतियोगितालाई पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजक क्लब तयारीमा जुटेको छ। लेखनाथ क्षेत्रमा आयोजना हुने उक्त प्रतियोगिताले समग्र लेखनाथ क्षेत्रको खेल पर्यटन प्रवर्द्धन हुने भएको पूर्व अध्यक्ष विजय गुरुङले बताउनुभयो ।