
पोखरा, ४ मंसिर,
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ दैलेखले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिसँगै दुई सय ४४ विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेका छन्। दुई लायन्स क्लब पोखरा अन्नपूर्ण र दैलेखबीच मितेरी सम्बन्ध कायम गरेको उपलक्ष्यमा दैलेख जिल्लाको डाँडा पराजुलस्थित पिपल चौतारा माध्यमिक विद्यालयमा अध्ययनरत उत्कृष्ट चार विद्यार्थीलाई छात्रवृत्तिसँगै विद्यालयमा आधारभूत तहदेखि १२ कक्षासम्म अध्ययन गर्ने दुई सय ४४ जना विद्यार्थीलाई विद्यालय पोसाक, स्वेटर र टोपी वितरण गरिएको लायन्स क्लब अफ पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष सुकल्याण पराजुलीले जानकारी दिए ।

आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत लायन्सले विभिन्न संघ, संस्था, विद्यालयहरुमा आवश्यक सहयोग गदै आएको पराजुलीले बताए । कार्यक्रममा कक्षा ७ मा अध्ययनरत रोशन न्यौपानेलाई विशिष्ट पुरस्कारबापत नगद सात हजार रुपैयाँ प्रदान गरिएको थियो। त्यस्तै, कक्षा १ मा अध्ययनरत प्रीति विक, कक्षा ६ का छपेन्द्र गुरुङ र कक्षा ९ की मनिषा न्यौपानेलाई जनही दुई हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो। निवर्तमान अध्यक्ष पराजुलीले आफ्ना स्वर्गीय बुबा–आमाको नाममा पुष्प, शान्ति, गोमादेवी पराजुली छात्रवृत्ति कोष स्थापना गरी वार्षिक रुपमा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएका छन्।
कार्यक्रमका प्रमुख अतिथि दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाही, डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपाने, वडा नम्बर ५ का वडाध्यक्ष पर्वलाल शर्मा, प्रमुख प्रशासकीय अधिकृत शमशेर रानामगर, जिल्ला प्रमुख अनुसन्धान अधिकृत सुन्दरमणि पोख्रेल, लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष दुर्गाप्रसाद जोजिजू, लायन्स क्लब अफ दैलेखका अध्यक्ष अभिषेक अनुरागलगायतले विद्यार्थीलाई पुरस्कारसँगै विद्यालय पोसाक हस्तान्तरण गरेका थिए। लायन्स क्लब अफ दैलेखका निवर्तमान अध्यक्ष लायन राजु केसीले मितेरी सम्बन्धसँगै लायन्स क्लबका गतिविधिबारे प्रकाश पार्दै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दबहादुर केसीले विभिन्न संघसंस्थाले गर्ने यस्ता सहयोगले पोसाकको अभावमा विद्यालय आउन नसकेका विद्यार्थीलाई अध्ययनका लागि सहयोग पुग्ने बताउँदै सहयोगी लायन्स क्लबहरूलाई धन्यवाद दिएका थिए।






