
पोखरा, ४ मंसिर,
पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र सम्भावनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यसहित पोखरामा नेपाल पर्यटन पत्रकार संघ गठन भएको छ। हरिप्रसाद बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट आधिकारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।
संघको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी, समावेशी सचिवमा विजय नेपाली र कोषाध्यक्षमा चन्द्रिका घिमिरे रहेका छन्। संघको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, राम गुरुङ, राजु गिरी, रामशरण नेपाली र दिननाथ बराल, रहेका छन्। दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सञ्चारमाध्यम तथा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताए। नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो। उनले पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्दा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नसमेत आग्रह गरे।
संघका नवनिर्वाचित अध्यक्ष हरिप्रसाद बास्तोलाले पर्यटन पत्रकारितालाई थप व्यावसायिक, खोजमूलक र परिणाममुखी बनाउँदै संघलाई पर्यटन पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्यटनको प्रचारप्रसारमा मात्र सीमित नभई सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा र स्थानीय पर्यटन व्यवसायका वास्तविकता उजागर गर्न संघले प्राथमिकता दिने उनले बताए। पर्यटन क्षेत्रका अवसर, चुनौती र सम्भावनाको पहिचान गर्दै सम्बन्धित विषयमा खोजमूलक समाचार तथा सामग्री उत्पादन गर्ने, पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूको व्यावसायिक हकहित संरक्षण गर्ने संघको प्राथमिकता रहने अध्यक्ष बास्तोलाले स्पष्ट पारे। पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी बनाउने योजना रहेको उनले बताए। संघले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम र कार्ययोजना पहिलो बैठकपछि सार्वजनिक गर्ने उनको भनाइ थियो।
संघका महासचिव घनश्याम पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउनु संघ स्थापनाको मुख्य उद्देश्य रहेको बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान, अनुसन्धान, खोज तथा प्रचारप्रसारमार्फत नेपालका पर्यटन सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानमा संघ केन्द्रित हुने जानकारी दिए। पर्यटन नेपालको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार भएकाले यस क्षेत्रका सम्भावना, समस्या र उपलब्धिलाई तथ्यपरक ढंगले उजागर गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले पर्यटन पत्रकारितालाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउन संघले भूमिका खेल्ने बताए।






