रिभानको डाँडाबाट खुल्दैछ प्याराग्लाइडिङको नयाँ आकाश, माछापुच्छ्रेमा भविश्य खोल्दै पाइलटसहित चार युवा

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३ मंसिर,

पोखराको सराङकोटबाट चिनिएको साहसिक खेल प्याराग्लाइडिङको आकाश अब कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रिभानसम्म विस्तार हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका–५ रिभानको मैचेडाँडामा सोलो प्याराग्लाइडिङ उडान तथा पाइलट उत्पादन गर्ने उद्देश्यसहित ‘एरोडाइनामिक प्याराग्लाइडिङ स्कुल’ स्थापना गरिएको छ । पोखराका अनुभवी प्याराग्लाइडिङ पाइलटसहित चार युवाले माछापुच्छ्रेमा भविश्य खोज्दै करिब डेढ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको उक्त केन्द्रले ग्रामीण पर्यटनसँगै प्याराग्लाइडिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको नयाँ सम्भावना देखाएका छन् ।

पोखराका युवा व्यवसायी तथा प्याराग्लाइडिङ पाइलट विजय गौतम, विष्णु गौतम, काठमाडौंमा समेत कम्पनी सञ्चालन गर्दै आउनुभएका किरण कार्की र स्थानीय मेडिकल व्यवसायसँग आबद्ध अमृत अधिकारीको संयुक्त लगानीमा केन्द्र स्थापना गरिएको हो । चार वर्षसम्मको अध्ययन, अनुसन्धान र आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइएको केन्द्रबाट सोलो प्याराग्लाइडिङ उडानसँगै विभिन्न तहका प्रशिक्षण प्रदान गरिने सञ्चालक विजय गौतमले पोखराक्लिकलाई जानकारी दिनुभयो ।

पोखरामा लामो समयदेखि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन हुँदै आए पनि पाइलट उत्पादन गर्ने प्रशिक्षण संस्थाको संख्या सीमित रहेकाले रिभानमा नयाँ केन्द्र स्थापना गरिएको गौतमको भनाइ छ । केन्द्रमा १५ दिने बिगिनर कोर्षदेखि इन्टरमिडियट, क्रसकन्ट्री तथा टेन्डमको टी–वान र टी–टुसम्मका प्रशिक्षण सञ्चालन गरिनेछ । सोलो फन फ्लाईदेखि १० देखि १५ दिनसम्मका आवासीय तालिमसमेत उपलब्ध हुनेछन् । प्रशिक्षणलाई प्रभावकारी बनाउन प्रत्येक समूहमा बढीमा छ जनालाई मात्र सहभागी गराइने व्यवस्था गरिएको छ । समुद्री सतहबाट करिब एक हजार ६ सय ८० मिटर उचाइमा रहेको मैचेडाँडा उडानको प्रस्थानस्थल हुनेछ भने करिब एक हजार ५० मिटर उचाइमा रहेको मर्दी नदी किनारको बेँसीमा अवतरण गरिनेछ । माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्दै उडान गर्न सकिने भएकाले यस क्षेत्रलाई प्याराग्लाइडिङ प्रशिक्षण र साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने सञ्चालक गौतम बताउनुहुन्छ ।

‘रिभानको प्राकृतिक सुन्दरता र भौगोलिक बनावटले प्याराग्लाइडिङका लागि राम्रो सम्भावना बोकेको छ,’ गौतमले भन्नुभयो, ‘यहाँबाट हिमालको मनोरम दृश्य हेर्दै उडान गर्न सकिन्छ । हाम्रो उद्देश्य उडान मात्र सञ्चालन गर्नु नभई नेपाली युवालाई दक्ष पाइलट बनाएर यही क्षेत्रमा रोजगारी र व्यवसायको अवसर सिर्जना गर्नु पनि हो ।’उडान क्षेत्रका लागि आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरिएको सञ्चालकको भनाइ छ । टेकअफ र ल्याण्डिङ क्षेत्रबीच करिब ६ सय मिटरको दूरी रहेको र बीचमा जंगलसमेत पर्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको गौतमले बताउनुभयो । उडानका क्रममा निर्धारित क्षेत्र र उचाइको सीमाभित्र रहने तथा आवश्यक सुरक्षा मापदण्ड पालना गरिने उहाँको भनाइ छ । हाल पोखरामा करिब दुई सय ६० व्यावसायिक प्याराग्लाइडिङ पाइलट र ५६ वटा कम्पनी रहेको गौतमको जानकारी छ । नेपालमा पाइलट उत्पादन गर्ने तीनवटा प्रशिक्षण केन्द्र सञ्चालनमा रहेको उहाँले बताउनुभयो । केन्द्रको बिहीबार गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्याराग्लाइडिङ पाइलट विजय दाहाललाई ग्लाइडर हस्तान्तरण गर्दै उद्घाटन गर्नुभयो । उद्घाटनपछि विजय गौतमले रिभानको आकाशमा उडान गर्नुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बरालले सराङकोटको विकल्पका रूपमा रिभान पनि प्याराग्लाइडिङको नयाँ गन्तव्य बन्न सक्ने बताउनुभयो ।

माछापुच्छ्रे गाउँपालिकाले टेकअफ र ल्याण्डिङका लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराएको छ भने गण्डकी प्रदेश सरकारले स्थान सम्याउन सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, वडा नं। ८ का अध्यक्ष राम गुरुङ तथा खेलकुदकर्मी यामबहादुर गुरुङले केन्द्र सञ्चालनले पर्यटन गतिविधि र स्थानीय आर्थिक अवसर बढाउने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक विष्णु गौतमले स्थानीय समुदायसँग सहकार्य गर्दै रिभानलाई साहसिक पर्यटनको नयाँ केन्द्र बनाउने प्रतिबद्धता जनाउनुभयो । प्याराग्लाइडिङ प्रशिक्षणसँगै स्थानीय युवालाई रोजगारी, पर्यटकलाई नयाँ अनुभव र ग्रामीण क्षेत्रमा होटल, होमस्टे तथा अन्य पर्यटन व्यवसाय विस्तारको अवसर सिर्जना हुने अपेक्षासहित रिभानको आकाशमा साहसिक पर्यटनको नयाँ अध्याय सुरु भएको छ ।

पोखरादेखि एक घण्टाको सवारी यात्रामा पुगिने रिवानमा सोलो उडानको राम्रो रोजाईको गन्तव्य रहेको संचालक एवं पाइलट गौतमले बताउनु भयो । प्याराग्लाईडिङ पाइलटले पोखरावाट नजिकै रहेको उडान क्षेत्रको रिभानमा भरपुर मनोरन्जन लिनुका साथै उडान गर्न पाउने उनले जनाए । हाल तोरीपानिको सानो एरियामा उड्नु पर्ने अबस्थामा रिभान क्षेत्रमा खुल्ला आकासमा सिमित उडान हुने भएको छ ।