फोहोरबाट मोहोर आम्दानी गर्ने लक्ष्यसहित पोखरामा सुरु भयो आरयू फेस्ट (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर २ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २, कार्तिक,

फोहोरलाई समस्याका रूपमा मात्र नभई आम्दानी र रोजगारीको स्रोतका रूपमा उपयोग गर्ने उद्देश्यसहित पोखरामा आज (बुधबार) देखि दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६’ सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा दिगो फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पोखराको इभेण्ट सेन्टरमा उक्त उक्त महोत्सव सुरु भएको हो ।

विहिबारसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त महोत्सवले फोहोरबाट कसरी मोहोर आम्दानी गर्न सकिन्छ भन्ने गतिलो पाठ सिकाएको बताउनु भयो । मुख्यमन्त्री पाण्डेले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नहेरी त्यसमा रहेका सामाजिक, आर्थिक तथा वातावरणीय सम्भावनाको पहिचान गर्नुपर्ने बताउनुभयो । पुनः प्रयोग र प्रशोधनमार्फत फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्दै चक्रीय अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकलिङ तथा अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (जीसीआरयू) परियोजनाअन्तर्गत महोत्सव आयोजना गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महोत्सवले पुनर्चक्रण तथा पुनः प्रयोगमा संलग्न उद्यमी, पर्यटन व्यवसायी, निजी क्षेत्र, विद्यार्थी र सर्वसाधारणबीच सहकार्य विस्तार गर्दै स्थानीय उद्यमका उत्पादनलाई बजारसम्म पु¥याउने अवसर सिर्जना गर्नेछ । फोहोरको वर्गीकरण, पुनः प्रयोग र प्रशोधनलाई व्यवहारमा उतार्दै त्यसबाट आम्दानी तथा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश महोत्सवले दिने उहाँले बताउनुभयो । पोखरामा रिसाइकलिङ तथा अपसाइकलिङका लागि छुट्टै भवन निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै नगर प्रमुख आचार्यले भवन सञ्चालनमा आएपछि प्रयोग भइसकेका सामग्रीबाट नयाँ वस्तु उत्पादन गर्ने कामलाई थप व्यवस्थित बनाइने बताउनुभयो ।

महोत्सवमा रिसाइकलिङ तथा अपसाइकलिङबाट तयार गरिएका सामग्रीको प्रदर्शनी तथा बिक्रीलाई मुख्य आकर्षणका रूपमा राखिएको छ । जीसीआरयू परियोजनाको सहयोगमा प्रवद्र्धित स्थानीय उद्यमीका उत्पादनसँगै छनोट भएका पाँच विद्यालयका आरयू क्लबका विद्यार्थीले तयार गरेका सामग्रीसमेत प्रदर्शनीमा राखिएका छन् । यसले स्थानीय उद्यमी तथा विद्यार्थीलाई आफ्ना उत्पादन र सिर्जनात्मक क्षमताको प्रदर्शनसँगै बिक्रीको अवसरसमेत प्रदान गर्नेछ ।

प्रयोग भइसकेका कपडा तथा अन्य सामग्रीबाट तयार गरिएका पोसाक र कलाकृतिको अपसाइकल फेसन तथा कला प्रदर्शनी, अन्तरक्रियात्मक खेल, प्रयोगात्मक कार्यशाला, नाट्य प्रस्तुति, फोहोरबाट खेलौना निर्माण तथा बालबालिकाका लागि आरयू कथापुस्तक विमोचनलगायतका कार्यक्रम पनि महोत्सवमा समावेश छन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महोत्सवले फोहोरको वर्गीकरण, पुनः प्रयोग तथा व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै रिसाइकलर, अपसाइकलर, निजी क्षेत्र र पर्यटन व्यवसायीबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कोइका तथा यूएनडीपीका प्रतिनिधिहरूले पनि पोखरामा हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको विकासका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभएको छ । परियोजनाअन्तर्गत तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत राखिएको छ । यसका साथै विस्तारित उत्पादकको दायित्वसम्बन्धी नियामकीय अनुगमन र संवादलाई पनि परियोजनाले प्राथमिकता दिएको छ ।

महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रवेश निःशुल्क रहेको महोत्सवमा विद्यार्थी, युवा, उद्यमी, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहकार्यमा ‘रि–थिङ्क २०२६ ः फ्रम वेस्ट टु वर्थ’ नारासहित आयोजना गरिएको महोत्सव बिहीबारसम्म सञ्चालन हुनेछ ।