पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला पूर्ण रूपमा नष्ट

-


     पोखरा क्लिक     
     मंसिर २ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका–१६, घार्मीखोलास्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला पूर्ण रूपमा जलेर नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४ः३० बजे आश्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको कार्यालयका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बताए । प्रहरीका अनुसार इँटा र बाँसले बनेका तथा टिन र मार्बलको छाना भएका दुईतले दुवै भवनको माथिल्लो तलामा आगलागीबाट पूर्ण क्षति पुगेको छ । माथिल्लो तलामा राखिएका अन्नपात, फर्निचरलगायतका सामग्रीसमेत जलेर नष्ट भएका छन् । आगलागीको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । नेपाली सेनाको टोलीसमेत आगो नियन्त्रणका लागि खटिएको थियो । प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा साँझ ५ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भएको छैन । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि स्थानीयवासी तथा जनप्रतिनिधिको प्रारम्भिक अनुमानअनुसार करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने जनाइएको छ । घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।