
पोखरा,
कास्कीको पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
प्रहरीका अनुसार २०८३ कात्तिक २५ गते राति करिब ९ः४५ बजे घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका १३ जनालाई उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आउनुभएका २३ वर्षीय मिलन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँलाई कात्तिक २६ गते बिहान करिब २ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते हुनेहरूमा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा–२३ का १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहनुभएको छ। कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार दुर्घटनाको कारण हालसम्म खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मादक पदार्थ सेवन गरी फेवातालमा हाम फालेका युवकको उद्धार
यसैबीच, पोखराको फेवातालमा हाम फालेका एक युवकलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ।
२०८३ कात्तिक २५ गते राति करिब ११ बजे पोखरा महानगरपालिका–६ स्थित बसुन्धरापार्क नजिकै २९ वर्षीय केशव भुजेल फेवातालमा हाम फालेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका–५ प्रस्याङ निवासी भुजेलले मादक पदार्थ सेवन गरेको अवस्थामा तालमा हाम फालेको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाबारे सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उहाँलाई तालबाट उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि जीएमसी अस्पताल पुर्याइएकोमा उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। एकै रात पोखरामा भएको जिप दुर्घटना र फेवातालमा युवकले हाम फालेको घटनाले सवारी सुरक्षासँगै व्यक्तिगत सुरक्षाप्रति पनि थप सतर्कता अपनाउनुपर्ने देखाएको छ। फोटो एआई जेनेरेटेड





