
पोखरा, २५ कात्तिक,
होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आज (बुधबार) आयोजना गरेको १९ औं संस्करणको भाइटिका महोत्सव २०८३ मा विभिन्न १५ देशका ५१ पर्यटकले सप्तरंगी टिका लगाएका छन् । पोखराको लेकसाइड स्थित होटल पौवाको परिसरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका हुन् ।
सो अवसरमा अमेरिका, वेलायत, चीन, जापान, अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टिका ग्रहण गरेका थिए । आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले संघले भाइटिकालाई महोत्सवका रुपमा निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत पर्यटकलाई टिका लगाउने कार्यक्रम भएको जानकारी दिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र आपासी भाइचार अभिवृद्धि गर्ने उद्देश्य महोत्सवले लिएको उनले स्पष्ट पारे ।
सो अवसरमा पर्यटकले देउसी खेले र नाचगानमा समेत रमाए । उनीहरुले सेलरोटी चाखे । टिका ग्रहण गरेपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरुलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो । टिका लगाएपछि लिथुएनियाकी पर्यटक मोनिकाले नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष आफूलाई मन परेको अनुभव सुनाइन् । मर्दि हिमाल पदयात्राका क्रममा आफूले राम्रोसँग हिमाल देख्न नपाए पनि पदयात्रा निकै स्मरणीय बन्न पुगेको बताइन् । नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगरपालिकाले महोत्सवलाई प्रबद्र्धन गरेका थिए । रिभेल महोत्सवको अनलाईन पार्टनर रहेको थियो । उक्त महोत्सवका कारण केही पर्यटकहरुले यस सिजनमै पोखरा आउने गरेको पर्यटन विद दिपेन्द्र पहारीले बताए ।





