पोखराको मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा प्रथम, लेकसाइडमै गरियो गाई पूजा (भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २३ कात्तिक,

पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा प्रथम भएको छ । तिहारको अवसरमा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा सोमबार आयोजित ‘मौलिक देउसी–भैलो उत्सव तथा प्रतियोगिता–२०८३’ मा सहभागी १० समूहलाई पछि पार्दै पुन समाज पोखरा उत्कृष्ट बन्न सफल भएको हो ।

११ समुह बिच भएको प्रतियोगितामा प्रथम भएको पुन समाजलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले पोखराक्लिकलाई जनाएको छ । नेपाली मौलिक लोकसंस्कृति, परम्परागत देउसी–भैलोको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका, महानगरको आर्थिक विकास महाशाखा, पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरकेको संयुक्त आयोजनामा उत्सव सम्पन्न भएको हो ।

उत्सवको उद्घाटन पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले दीप प्रज्वलन तथा गाई पूजा गरेर गर्नुभएको थियो । गाईपूजाकै दिन कार्यक्रम आयोजना गरिएकाले उत्सवस्थलमा सामूहिक गाई पूजासमेत गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृति संरक्षण गर्नुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले पछिल्लो समय नेपाली मौलिक कला, संस्कृति र परम्परा हराउँदै जान थालेको भन्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराप्रति परिचित गराउन यस्ता उत्सव प्रभावकारी हुने उहाँको भनाइ थियो । त्यसैगरी, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपालको मौलिक चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताउनुभयो । नेपाली चाडपर्वको विशेषता र सांस्कृतिक पहिचान विश्वसामु पुर्‍याउन सके नेपाललाई नयाँ ढंगले चिनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगितामा सहभागी ११ वटै समूहले परम्परागत भेषभूषामा सजिएर नेपाली मौलिक भाका, शब्द, लय र तालमा देउसी–भैलो प्रस्तुत गरेका थिए । समूहहरूको मूल्याङ्कन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो । उत्सवमा स्थानीय समूहका प्रस्तुतिसँगै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले बताउनुभयो । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली मौलिक देउसी–भैलो निकै मनोरञ्जनपूर्ण रूपमा अवलोकन गरेको उहाँले जानकारी दिनुभयो । तिवारीका अनुसार उत्सवले पर्यटकलाई नेपाली तिहार र मौलिक संस्कृतिबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको छ ।

प्रतियोगितामा सहभागी सबै समूहलाई परम्परागत देउसी–भैलोमा दानदक्षिणा दिएर बिदाइ गर्ने नेपाली संस्कृतिलाई निरन्तरता दिँदै चामल, फलफूल, सेलरोटी, नगद पाँच हजार पाँच सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकैसाथ जोड्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताउनुभयो । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा समेत विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । मुख्य निर्णायकमा पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल रहनु भएको पब्लिक फोकेका घनश्याम पाण्डेले बताउनु भयो । देउसी–भैलो प्रतियोगितासँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा तिहारसँग सम्बन्धित सांस्कृतिक गतिविधिले गौरीघाट क्षेत्रलाई उत्सवमय बनाएको थियो । नेपाली मौलिक पर्व, परम्परा र लोकसंस्कृतिलाई पर्यटकमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्‍याउने आयोजकको विश्वास छ । पब्लिक फोके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले पहिलो पटक आयोजना भएको उत्त कार्यक्रम सबैको साथ र सहयोगले सफल भएकोमा धन्यवाद दिनु भएको छ ।