युवराज सम्राको शतकमा पोखरा एभेन्जर्सको पहिलो शानदार जित, कर्णाली याक्स ६३ रनले पराजित

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८३ मा प्रकाशित


पोखरा, २३ कात्तिक,

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो शानदार जित हात पारेको छ । क्यानडाका ओपनर युवराज सिंह सम्राको विस्फोटक शतकको मद्दतमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८।३ ओभरमा १५४ रनमै समेटियो । यससँगै पोखराले प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ । पोखराको जितमा युवराज सम्रा नायक बने । उनले मात्र ४८ बलमा १० चौका र ६ छक्काको मद्दतले १०२ रनको शतकीय पारी खेले । एनपीएलको यस संस्करणमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनको शतक जारी संस्करणको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोरसमेत हो ।

एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका सम्राले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै पोखराको स्कोरलाई विशाल योगफलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्सलाई बलियो बनाएका थिए । कप्तान भुर्तेलले पनि आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६२ रन बनाए । यस्तै चमिका करुणारत्नेले अविजित ३५ रनको योगदान दिए । सम्राको शतक, भुर्तेलको अर्धशतक र करुणारत्नेको आक्रामक ब्याटिङको मद्दतमा पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो ।

एनपीएल इतिहासमा सम्राको यो शतक पोखरा एभेन्जर्सका लागि तेस्रो तथा प्रतियोगिताकै चौथो शतक हो । यसअघि पोखराका आन्द्रे गौसले पहिलो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध तथा दोस्रो संस्करणमा एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए । बलिङतर्फ पोखराका मेहदी हसनले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । धनञ्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिएपछि कर्णालीको ब्याटिङ धराशायी बनेको थियो ।

पोखराले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कर्णालीका ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली १५४ रनमै अलआउट हुन पुग्यो । पोखराका बलरले नियमित अन्तरालमा विकेट लिँदै खेलमा आफ्नो पकड कायम राखेका थिए । सम्राको शतक र कप्तान भुर्तेलको अर्धशतकसँगै बलिङमा समेत सामूहिक प्रदर्शन गरेको पोखरा एभेन्जर्सले कर्णालीविरुद्ध ६३ रनको फराकिलो जित निकाल्दै आफ्नो क्षमता प्रस्तुत गरेको छ । पोखराले यस अघि लगताार ३ खेलमा पराजिय भोगेको थियो ।