एसिसी यू–१९ एसिया कप खेल्न नेपाली टोलीलाई पोखराबाट बिदाइ (भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १६ कात्तिक,

ओमानमा आयोजना हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागि हुन लागेको नेपाली राष्ट्रिय टोलीलाई पोखरामा एक समारोहबीच सोमबार बिदाइ गरिएको छ । आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म ओमानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीहरूले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै सोमबार बिदाई गर्नु भएको हो ।

बिदाइ कार्यक्रममा नगर प्रमुख आचार्यले खेलकुद राष्ट्रको प्रतिष्ठा र पहिचानसँग जोडिएको विषय भएको बताउँदै मैदानमा उच्च मनोबल, अनुशासन र खेल भावना प्रदर्शन गरी नेपालको गौरव बढाउन खेलाडीहरूलाई शुभकामना दिनुभयो । “खेलकुद राष्ट्रको प्रतिष्ठा र पहिचानसँग जोडिएको विषय हो । मैदानमा उच्च मनोबल, अनुशासन र खेल भावना प्रदर्शन गर्दै नेपालको गौरव बढाउने विश्वास लिएको छु। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजयी भएर फर्किनुहोस्,” उहाँले भन्नुभयो ।

यसैबिच, कास्की जिल्ला क्रिकेट सङ्घ तथा गण्डकी प्रादेशिक क्रिकेट सङ्घको समन्वयमा टोलीलाई बिदाइ गरिएको छ । प्रतियोगिताका लागि विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानमा निरजकुमार यादव रहनुभएको छ । मुख्य प्रशिक्षकमा वसन्त शाही र सहायक प्रशिक्षकमा धीरेन्द्रचन्द रहनुभएको छ । टोलीमा प्रसिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यांशु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहनुभएको छ ।

प्रतियोगिताको तयारीस्वरूप नेपाली टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एक सातासम्म प्रशिक्षण गरेको थियो । टोली मंगलबार फ्लाई दुबई हुँदै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आठ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले नोभेम्बर ६ मा भारतसँग पहिलो खेल खेल्नेछ । त्यस्तै, नोभेम्बर ८ मा यूएई र नोभेम्बर १० मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

छोटो समयको तयारी भए पनि टोलीले राम्रो अभ्यास गरेको मुख्य प्रशिक्षक वसन्त शाहीले बताउनुभएको छ । उहाँले खेलाडीहरूको मेहनत र तयारीका आधारमा प्रतियोगितामा राम्रो नतिजा ल्याउने अपेक्षा व्यक्त गर्नुभएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका सदस्य ऋषिराम गौतमले नेपाली टोलीलाई शुभकामना दिँदै पोखरा रङ्गशालाको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका विषयमा प्रदेश सरकारको पर्याप्त चासो नदेखिएको गुनासो समेत गर्नुभयो । उहाँले क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकार तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्दै नेपालको क्रिकेटलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको संघ गण्डकीका सचिव सुमनराज कार्कीले बताउनु भयो ।



This will close in 20 seconds