पोखरामा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८३ मा प्रकाशित


पोखरा, ९ कात्तिक,

पोखरामा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये एक जनाले मादक पदार्थ र छ जनाले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउँसो करिब २ः२५ बजेदेखि पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकको पृथ्वी राजमार्ग खण्डमा सवारी चालकको जाँच गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चालकले मादक पदार्थ तथा लागूऔषध सेवन गरे–नगरेको जाँच गरेको थियो।

जाँचका क्रममा सात जना चालकले मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ। उनीहरू सबै बसका चालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी बस चलाउनेमा गण्डकी प्रदेश १ ख ९३९९ नम्बरका बस चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी ५३ वर्षीय खिमबहादुर खत्री रहेका छन्।

त्यसैगरी, लागूऔषध सेवन गरी बस चलाएको आरोपमा गण्डकी प्रदेश १ ख ६१७१ नम्बरका चालक लमजुङको बेँसीसहर नगरपालिका–२ निवासी ३३ वर्षीय पवन परियार, गण्डकी प्रदेश १ ख ३२८२ नम्बरका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ निवासी ३८ वर्षीय दीपक विक र गण्डकी प्रदेश १ ख ५१५३ नम्बरका चालक तनहुँको म्याग्दे गाउँपालिका–५ निवासी २८ वर्षीय अमृत नेपाली पक्राउ परेका छन्।

यस्तै, गण्डकी प्रदेश १ ख ४२१७ नम्बरका चालक तनहुँको भिमाद नगरपालिका–५ निवासी २३ वर्षीय कृष्ण परियार, गण्डकी प्रदेश १ ख ८५४४ नम्बरका चालक म्याग्दे गाउँपालिका–६ निवासी ३० वर्षीय मनिष गुरुङ र गण्डकी प्रदेश १ ख ००८३ नम्बरका चालक म्याग्दे गाउँपालिका–३ निवासी २३ वर्षीय विवेक नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध गरिएको जाँचका क्रममा सात जना नियन्त्रणमा परेको जानकारी दिए।

सवारी चलाउँदा मादक पदार्थ वा लागूऔषध सेवन गर्नु चालक स्वयंका साथै यात्रु तथा सडकमा आवतजावत गर्ने अन्य व्यक्तिको सुरक्षाका लागि समेत जोखिमपूर्ण हुने भएकाले प्रहरीले यस्ता गतिविधिविरुद्ध जाँच तथा कारबाहीलाई निरन्तरता दिँदै आएको छ।



This will close in 20 seconds