तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, सयौँ घर भत्किए

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


पोखरा, ६ कात्तिक,

चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। बिहीबार राति गएको भूकम्पका कारण सयौँ घर भत्किएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा तिब्बतको नागकु सहरअन्तर्गत बाछेन काउन्टीको मारु क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु राजधानी ल्हासाबाट करिब चार सय किलोमिटर टाढा रहेको छ। चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा केन्द्रविन्दु रहेकाले भूकम्पको प्रभाव आसपासका बस्तीमा परेको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको र २१ जनालाई सामान्य चोटपटक लागेको प्रारम्भिक विवरणमा उल्लेख छ।

भूकम्पका कारण कम्तीमा ३३९ घर भत्किएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ। भूकम्पपछि मानिसहरू घरबाट बाहिर निस्केर खुला स्थान तथा सवारीसाधनमा आश्रय लिन बाध्य भएका थिए। भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाइएको छ। स्थानीय प्रहरी, अग्नि नियन्त्रण तथा उद्धार टोली परिचालन गरिएको छ। प्रभावित बस्तीमा थप क्षतिको विवरण सङ्कलन गर्ने र आवश्यक राहत सामग्री पुर्‍याउने काम भइरहेको अधिकारीहरूले बताएका छन्। उच्च हिमाली भूभागमा अवस्थित प्रभावित क्षेत्र समुद्र सतहबाट करिब चार हजार आठ सय मिटर उचाइमा रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। भूकम्पका कारण केही सडकमा पहिरो तथा ढुङ्गा खस्ने समस्या देखिएपछि यातायातसमेत प्रभावित भएको विवरण सार्वजनिक भएका छन्।

भूकम्पपछि आसपासका क्षेत्रमा तीनदेखि चार म्याग्निच्युडसम्मका परकम्पसमेत रेकर्ड गरिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन गर्दै थप क्षति हुन नदिन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन प्रयास गरिरहेका छन्। सन् २०२४ को जनवरीपछि चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२५ को जनवरीमा पनि तिब्बतको टिङ्ग्री क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ठूलो जनधनको क्षति भएको थियो।



This will close in 20 seconds