उद्योगपति केसी परिवारमा शोक, समाजसेवी पम्फा केसीको निधन

-


     पोखरा क्लिक     
     कार्तिक ५ गते २०८३ मा प्रकाशित


पोखरा ५, कार्तिक,

पोखराको प्रतिष्ठित घराना एवं उद्योगपति केसी परिवारमा शोक परेको छ। पोखरा महानगरपालिका–१४, काजीपोखरी निवासी समाजसेवी पम्फा केसीको ९० वर्षको उमेरमा आज ( बिहीबार) बिहान निधन भएको छ। उहाँको निधनले परिवारजन, आफन्त तथा शुभेच्छुकहरू शोकमा परेका छन्।

केसीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा राति ४ बजेर १९ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही समयदेखि बिरामी रहनुभएकी उहाँलाई पछिल्लो समय निमोनियासमेत देखिएको थियो। स्वर्गीय पम्फा केसी समाजसेवी एवं उद्योगपति स्वर्गीय सूर्यबहादुर केसीकी आमा हुनुहुन्थ्यो। उहाँका सात छोरा र सात छोरी हुनुहुन्छ। छोराहरूमा शत्रुघन, विभीषण, भरत, दीपेन्द्र र सञ्जय केसी रहनुभएको छ। उहाँका छोराहरू सूर्यबहादुर केसी र रामचन्द्र केसीको यसअघि नै निधन भइसकेको छ। उहाँका नाति–नातिनी तथा पनाति–पनातिनीसहित ठूलो परिवार छ।

स्वर्गीय केसीको आज बिहीबार दिउँसो १२ बजेपछि पोखराको सेती नदीस्थित रामघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ। रामघाटस्थित राम मन्दिरबाट तलको भागमा अन्त्येष्टि गरिनेछ। त्यसअघि काजीपोखरीस्थित उहाँको निवासबाट शवयात्रा निकालिने परिवारले जनाएको छ।



This will close in 20 seconds