
गोरखा,
गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले उत्तरी तथा मध्य गोरकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र घरहरू बगाउँदा जनजीवन प्रभावित बनेको छ।
चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोले थुनिएको नदी बिहान करिब ४ः३० बजे खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको हो। बाढीको जोखिममा रहेको जगत् गाउँबाट नेपाली सेनाले छ जनाको हवाई उद्धार गरेको छ। प्रभावित क्षेत्रमा सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ।
बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा–धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भाग बगाएपछि मुख्य सडक सम्पर्क विच्छेद भएको छ। आरुघाट–२ र ३ जोड्ने सोतीस्थित मोटरेबल पुलसमेत बगेको छ। पुल पुनर्निर्माणका लागि बेलिब्रिज राख्ने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ। नेपाली सेनाको टोलीसमेत आवश्यक सामग्री आएलगत्तै निर्माण सुरु गर्ने तयारीमा छ।
धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा आसपासका घरमा क्षति पुगेको छ। माछिखोलाबाट केरौजा जोड्ने र चुमनुब्री–३ को न्याक्चेतबाट सिर्दिबास जोड्ने झोलुङ्गे पुलसमेत बगेका छन्। बाढीको बहाव तीव्र रहेकाले बूढीगण्डकी र त्रिशूली नदी आसपासका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।






