
पोखरा, २३ असोज,
पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस कालिकास्थित ओख्लेको भीरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ।
नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको वास्तविक कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्।
समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत आवश्यक सुझाव प्रस्तुत गर्नेछ। नगरप्रमुख आचार्यले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विद्यालयका सवारीसाधनको नियमित जाँच, निर्धारित सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।
उनले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको उक्त बस पोखरा महानगरपालिका–२८, कालिकास्थित ओख्लेको भीरमा दुर्घटनामा परेको थियो। दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालकसहित २२ जना सवार रहेको विवरण प्राप्त भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते उपचाररत छन्।
दुर्घटनापछि विद्यालयका सवारीसाधनको सुरक्षा, नियमित प्राविधिक परीक्षण र विद्यार्थीको सुरक्षित आवागमनलाई थप प्रभावकारी बनाउने विषयमा समेत चासो बढेको छ। महानगरपालिकाले गठन गरेको समितिको प्रतिवेदनले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना रोक्न आवश्यक उपाय सुझाउने अपेक्षा गरिएको छ।







